
काठमाडौं – भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणप्रति पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निन्दा गरेका छन् ।
डा. भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताएका छन् ।
‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन, लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ ! निरंकुशता/फासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।
भ्रस्टाचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा कुटपिट भएको थियो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै शाहीको खबरदारी सभा विथालेका थिए । त्यस लगतै शाहीमाथि कुटपिट भएको थियो।
हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ! निरंकुशता/फासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो!के हाम्रा कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन्?
— Baburam Bhattarai (@brb1954) September 29, 2019
