
पोखरा । नेपालीहरुको महान चाड बडादशैं शुरु भएसँगै पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु भएको छ । असोज २० गते महाअष्टमीसम्म सञ्चालन हुने गरी आइतबारदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव २०७६ शुरु भएको हो ।
नवदुर्गा महोत्सव शुभारम्भको दिन आइतबार विहान शोभायात्रा निकालिएको थियो । विन्ध्यवासिनी मन्दिरको झाँकी र नवदुर्गाका नौ रुपका झाँकीसहित कलश यात्रागरी बजार परिक्रमा गराइएको हो । विन्ध्यवासिनी क्षेत्र विकास समितिका अनुसार नवदुर्गा महोत्सवमा युवा पण्डित भाष्कर कमलनयन गौतमले कथावाचन गर्नेछन् ।
महोत्सवमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुनेछ । सो महायज्ञ प्रत्येक दिन बिहान ९ बजे देखि मध्याह १२ बजेसम्म र मध्यान्ह १ बजेबाट अपरान्ह ४ बजेसम्म चल्नेछ । विजयादशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पूजाआजा गर्ने व्यवस्था समितिले मिलाएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । मन्दिरमा भक्तजनहरुले चढाएको भेटिबाटै समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष समितिले २ करोड ७५ लाख रुपैयाँ भेटि संकलन गरेको थियो । तीन सय वर्षको इतिहास बोकेको मन्दिरमा स्याङ्जा, तनहुँ, लमजुङ र गोरखा लगायतका जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन आउने गरेका छन् ।
समितिले लिफ्ट समेत सञ्चालन गर्दै आएको छ । लिफ्टबाट संकलन गरिएको रमकले लिफ्ट मर्मत गर्न पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।शारीरिक असक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक बाहेक अन्य स्वदेशीलाई जनही ५० र विदेशीलाई जनही एक सय रुपैयाँ शुल्क तोकिएको छ ।
समितिले विन्ध्यवासिनी बैदिक गुरुकुल विद्याश्रम पनि सञ्चालन गर्दै आएको छ । विद्याश्रमको भवन निर्माण कार्य सुरु गरिएको छ भने समितिले प्राकृतिक चिकित्सालय निर्माणको काम पनि थालेको छ ।
