गोकुल बानियाँ , पोखरा २२ कार्तिक । पोखरा बिश्वबिद्यालयमा नियम बिपरित पदाधिकारी नियुक्त गरिएको भन्दै प्राध्यापकहरुले बिरोध गरेको छन् ।
उपकुलपति सहित २४ पदाधिकारी निलम्बनमा परेपछि बिहिवार मात्रै कायम मुकायम उपकुलपतिको जिम्मेवारी पाएका प्रा. डा. बिष्णुराज तिवारीले बरिष्टतालाई मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै तीन प्राध्यापक संगठनले आपत्ती जनाएका छन् ।
तिवारीले शुक्रवार रिक्त रहेको रजिष्टार पदमा राजेश ठकुराठी, परीक्षा नियन्त्रकमा अनुप आचार्य, बिज्ञान तथा प्रबिधि संकायको डीनमा निर्मला जमरकट्टेल, ब्यबस्थापन संकायको डीनमा दिपक भण्डारी र मानविकी संकायको डीनमा अजय थापालाई नियुक्त गरेका थिए ।
कामु उपकुलपति नियुक्ती नियमसंगत भएपनि अन्य पदाधिकारीको नियुक्तीमा भने आपत्ती रहेको उनिहरुले बताएका छन् । नेकपा एमाले निकट प्रगतिशिल प्राध्यापक संगठन र एमाओबादी तथा नेकपा माओबादी निकट राष्ट्रिय प्राध्यापक संगठनको शुक्रवार साझ बसेको संयुक्त बैंठकले पदाधिकारी नियुक्तीमा बरिष्टतालाई मिचेको ठहर गरेको छ ।
पदाधिकारी नियुक्तीमा कांग्रेसले एकलौटी गरेको समेत उनिहरुले आरोप लगाए । प्रगतिशिल प्राध्यापक संगठन पोखरा बिश्यबिद्यालयका कार्यबहाक अध्यक्ष विबेक पुडासैनीले विश्वबिद्यालय ऐन बिपरित पदाधिकारी नियुक्त गरिएकोले सच्याउनुपर्ने बताए ।
‘ विश्वबिद्यालय ऐन २०५३ को धारा २८ ‘ख’ मा संक्रमणकालिन अबस्थामा पदाधिकारी रिक्त हुन आए बरिष्टताको आधारमा नियुक्त गर्नुपर्ने प्राबधान छ , पुडासैनीले बिगएफएमसंग भने ‘ तर राजनितिक आस्थाको आधारमा नियुक्ती गरिएको छ । ’
कामु उपकुलपतिले सबैको सुझाब र सहमतिमा पदाधिकारी नियुक्त गर्नुपर्नेमा एकलौटी निर्णय गरेको पुडासैनीले बताए । बरिष्ट प्राध्यापक हुदा हुदै राजनितिक आस्थाकै भरमा कनिष्टलाई ल्याईएको उनको आरोप छ । चरम राजनितिको कारण विश्वबिद्यालय धराशायी भएपनि पुन राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त गरिनु विश्वबिद्यालयको हितमा नहुने उनले बताए ।
एमाले निकट अनेराश्वबियुका पोखरा बिश्वबिद्यालय संयोजक नेशन शर्माले पदाधिकारी नियुक्तीमा कांग्रेसले एकलौटी गरेकाले अन्य बिद्यार्थीसंगठनको सहकार्यमा आईतवार देखि आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सहमतिको आधारमा जानुपर्नेमा राजनितिक आस्थाको आधारमा पेलेर जान खोजेकाले विद्यार्थीसंगठनहरुले पनि बिरोध गर्ने उनले बताए ।
तिवारीले उपकुलपतिमा नियुक्त भएलगतै बिगएफएम संगको कुराकानीमा आईतवारबाट कार्यभार सम्हाल्ने र सबैको सहमतिमा अन्य पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए । सबैको साथ र सहयोगमा विश्वबिद्यालयलाई संकटबाट उकास्ने बताएपनि उनको पहिलो निर्णयनै बिरोधमा परेको छ ।
