दशैँलाई लक्षित गरी ८ सहकारीले दुइ महिनामै बेचे ८३ लाख रुपैयाँ बराबरको खसीबोका

Share:

तनहुँ।नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुइ महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुइ सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् ।हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा सञ्चालित ‘पशुबस्तुको मूल्यशृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले ९३४ खसी बिक्री गरेको कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी  दिए  ।

सबैभन्दा बढी तनहुँको भिमाद नगरपालिका-९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ४३ हजार ७५ बराबरको खसी बिक्री भएको छ भने सबैभन्दा कम शुक्लागण्डकी नगरपालिका-१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु दुइ लाख ६४ हजार ८६५ बराबरको खसी बिक्री भएको छ । अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमार्फत १५४ खसी बिक्री भएको सहकारीका अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिए  ।घिरिङ गाउँपालिका-२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु नौ लाख १७ हजार ४७२, घिरिङ गाउँपालिका-५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १४ लाख १५ हजार ९२५, भीमाद नगरपालिका-४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु आठ लाख ५६ हजार ५३ रुपैयाँको खसीबोका बिक्री गरेका छन् ।

यस्तै, व्यास नगरपालिका-८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु पाँच लाख ४७ हजार ३२३, मध्यनेपाल नगरपालिका-१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी मार्फत रु १२ लाख ५६ हजार ४२५ र सुन्दरबजार नगरपालिका-१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फ रु पाँच लाख ५८ हजार ९१५ बराबरको खसी बिक्री भएको छ ।सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत नै खसी बिक्री गरेर मनग्य आम्दानी गरेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो । सहकारीले कृषकले उत्पादन गरेको खसी खरीद गरी व्यापारीलाई बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।

किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाउन भनेर सहकारीमार्फ खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भीमाद नगरपालिका-९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिए ।बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

चार वर्ष अगाडि परम्परागतरुपमा बाख्रापालन गर्ने यहाँका कृषक अहिले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । दुइ/चार वटा मात्रै बाख्रा पालेका कृषकले अहिले ४०/४५ वटा बाख्रापालन गरिरहेका छन् । हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् ।परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । पहिलो चरणको तीनवर्षे कार्यक्रम सम्पन्न भएर दोस्रो चरणको कार्यक्रम अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: