महरा प्रकरण : महिलाको उजुरी नपर्दा अनुसन्धान रोकियो, राजीनामा स्वीकृत

Share:

काठमाडौं । सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ ।

यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा बहाल रहन दिइराख्दा पार्टीको साख गिर्ने भन्दै नेकपाका केन्द्रीय नेताहरूले सांसद पदबाटै हटाउनुपर्ने माग गरिरहेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि मङ्गलबार महरा अब पार्टीको नजरमा सांसद नरहेको बताएका थिए ।

संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङले पार्टीले नै राजीनामा दिन भनिसकेकोले उनलाई दलले सांसदको रूपमा नचिन्ने तर्क गरेका थिए ।

प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसकेका महरामाथि लागेको यौन दुराचारको आरोपमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नै अन्यौलमा परेको छ ।

प्रहरी कन्ट्रोल रुम नम्बरमा आएको फोनको आधारमा प्रारम्भिक जाँचबुझ गरेको प्रहरी थप छानबिनका लागि पीडित पक्षको उजुरीको प्रतिक्षामा छ । प्रहरीले अहिलेसम्म घटनास्थलबाट सबूत प्रमाण संकलनको काम गरेको छ ।

संकलित सबूत प्रमाणको फरेन्सिक जाँचका लागि केन्द्रीय विधि बिज्ञान प्रयोगशाला पठाउने प्रक्रिया पनि शुरु गरेको थियो । तर, पीडित पक्षले सहयोग नगर्दा फरेन्सिक परीक्षणको कार्य पनि अगाडि बढाउन नसकिएको प्रहरी अधिकारीले बताए ।

पीडित महिलाले उजुरी नदिएसम्म थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकिने प्रहरी अधिकारी बताउँछन् ।

राजीनामा स्वीकृत

यसैबीच आरोप लागेपछि मंगलबार दिएको राजीनामा उपसभामुखले स्वीकृत गरेकी छिन् । संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरि राजीनामा स्वीकृत गरेको औपचारिक जानकारी गराएको हो।

उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । त्यसले गर्दा उनी थप विवादमा तानिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: