प्रदेश प्रहरी र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा मौलो पूजा

Share:

पोखरा । महानवमीको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा मौलो पूजा सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले एक कार्यक्रमका बीच सोमबार मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरे ।

उक्त अवसरमा उनले कुविन्डो तथा बलि पुजा साथै विभिन्न हातहतियारको समेत पूजा गरेका थिए । यस्तै प्रहरीको एक टुकुडिले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमकै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहनी, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुद्धारा सयुंक्त रुपमा फूलपातीसहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।

सोमबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि मौलो पूजा सम्पन्न भएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: