
अशोक विश्वकर्मा । दशैंका कारण सुनसान बनेका तनहुँका मुख्य बजार तथा चोकहरुमा अहिले विशेष चहलपहल बढ्न थालेको छ।
दशैं अगाडिको जस्तो चहलपहलमा पुगि नसकेको भएपनि चहलपहल बढ्न थालेको हो । दशैंको एक–दुई दिन पहिले सदरमुकामबाट भरिभराउ भएर गाउँघर तिरका सडकमा गाडीहरु गएको देखिएकोमा अहिले गाउँघरबाट सदरमुकामतिर आउनेहरूको गाडीमा भीडभाड नै हुने गरेको छ ।
टीकाको दिन सुनसान देखिएको तनहुँको दमौली, दुलेगौडा, डुम्रे खैरेनीटार, भिमाद, खैरेनीटार बजार अहिले बाहिर जाने सवारीसाधनको चाप बढ्न थालिसकेको छ । गाउँबाट फर्किने मानिसले गर्दा ग्रामीण क्षेत्रबाट आउने सवारीका साधनहरुमा पनि मानिसको भीडभाड देखिएको छ।
दशैं मान्न गएकाहरू पुन कर्मथलोमा फर्किने क्रम शुरु भएकाले यहाँका सदरमुकाम तथा बजारमा चहल पहल बढेको हो । दशैं मनाउनको लागि सदरमुकाम तथा बजार क्षेत्रमा बस्दै आएकाहरू गाउँघरतिर लागेपछि यहाँका बजार क्षेत्र सुनसान भएको थियो ।
जिल्लाको भिमाद रामपुर ग्रामिण क्षेत्रमा यात्रुबाहक बसका चालक महेन्द्र श्रेष्ठले गाउँ जानुपर्दा सवारी नपाइने भएता पनि गाउँबाट बजार झर्दा भने यात्रु भरिभराउन हुने गरेको बताए । उनले दशैको रौनक यति बेला गाउँघरमा बढी रहेको समेत अनुभव सुनाए ।
