जनप्रतिनिधि बुख्याँचा सरह, आफुहरुले जिम्मेवारी नपाएको वडासदस्यहरुको गुनासो

Share:

अशोक विश्वकर्मा, तनहुँ । संघीय संरचना अनुसार देशमा तीन तहको सरकार विद्यमान रहेका छन्, संघ, प्रदेश र स्थानीय सरकार । सवैभन्दा तल्लो तहमा रहेको स्थानीय सरकारको नेतृत्व गर्ने स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु भने आफुहरुलाई जिम्मेवारी नदिएर बुख्याँचा बनाइएको भन्दै गुनासो गर्न थालेका छन् ।

वडा वडाबाट निर्वाचित भएका वडा सदस्यहरु अहिले कुनै पनि जिम्मेवारी नपाएको भन्दै आक्रोशित समेत बन्न थालेका छन् । उनीहरुले स्थानीय सरकार संघीयताको मर्म विपरित चलेको भन्दै आफुहरुलाई संविधानमा ब्यवस्था भएको जिम्मेवारी समेत नदिएको भन्दै गुनासो गर्न थालेको छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा सर्वाधिक मत सहित वडा सदस्यमा विजय भएका वडा न ४ का सदस्य सन्तोष श्रेष्ठले जनताको अपेक्षा अनुसार काम गर्ने अवसर नपाएको बताए । “हाम्रो आवश्यकता नै थिएन भने किन चुनावमा उठेर जित्नुप¥र्याे, हामीप्रति पनि जनताको आशा हुन्छ ।” उनले भने “विकास निर्माणमा कुनै पनि भूमिका नहुदाँ जनताले गरेको आशा निराशामा परिणत भएको छ ।”

उनले वडामा हुने कतिपय नगरका कार्यक्रमहरु बारे बेखर हुने गरेको गुनासो गर्दै पछिल्लो समयमा कार्यपालिका सदस्य बाहेक अन्य जनप्रतिनिहरु पर्दापछाडी परेको बताए ।
वडामा समेत वडाध्यक्षको एकाधिकार चल्ने गरेको वडा न ९ का एक वडासदस्यको गुनासो छ । उनले संघीय संरचना अनुसार निर्वाचित भएको जनप्रतिनिधिहरु नै वडा र नगरको विकास गर्ने कार्यक्रममा प्रत्यक्ष सहभागि हुनबाट बञ्चित हुने गरेको बताए । “कतिपय वडाको महत्वपूर्ण निर्णयमा हामीलाई सहभागि गराइदैन, सहभागि भएर गरेको निर्णय पनि पछि परिवर्तन हुने गरेको छ” उनले भने । “महत्वपूर्ण निर्णय, योजना निर्माण र बजेट विनियोजन गर्ने कार्यमा प्रमुखहरु नै हावि हुने गरेका छन् ।”

यता नगरपालिकाको वडा न ५ की एक महिला वडासदस्यले समेत योजना निर्माण भईसकेपछि निर्णय लिने बेलामा मात्र जानकारी दिने गरेको भन्दै गुनासो गरिन् । “नगरपालिका र वडामा प्रमुखहरु आफुखुशी योजना निर्माण गर्नुहुन्छ अन्त्यमा ठिक छ की छैन भनेर औपचारिकता मात्र पुरा गर्ने काम भएको छ ” उनले भनिन् । “मेरो एउटा गुनासो छ, महत्वपूर्ण निर्णय र योजना निर्माणमा हामीलाई बाइपास गरिन्छ ।”

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मात्र नभई समग्र देशको अवस्थामा नै एकै रुपमा चलेको समाचारहरु एक पछि अर्काे गरेर बाहिरी रहदाँ यहाँका जनप्रतिनिधिहरुले गुनासो गर्न थालेका हुन् ।  वडासदस्यहरुले नगरपालिकाको नगरसभामा सहभागि भएर तालि बजाउनु बाहेक अन्य काम नभएको भन्दै दुखेसो पोखे । वडा न ४ का वडासदस्य श्रेष्ठले नगरसभामा सहभागि हुने वडाका बैठकमा सहभागि हुने तथा वडामा हुने विकास निर्माणमा अनुगमन गर्ने कार्य भैरहेको भन्दै संविधान प्रदत्त अधिकार भने प्राप्त नभएको बताए ।

यस्तै जिल्ला समन्वय समितिकी सदस्य समेत रहेकी वडा न ४ की वडा सदस्य दिब्यश्वरी विकले वडामा महत्वपूर्ण रुपमा वडाध्यक्ष नै काम गर्ने भएकाले अन्यको आवश्यकता नै नभएको जस्तो महशुष गरेको बताइन् । दलित समुदायबाट प्रतिनिधित्व गरेकी विकले अन्य वडासदस्यहरुको भूमिका कमजोर बनिरहदाँ दलित समुदायको मुद्धाको विषयमा भने कोही पनि गम्भिर नबनेको बताईन् ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्ग भने वडासदस्यहरुलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार जिम्मेवारी प्रदान गरिएको दावि गर्छन् । “ब्यवस्थापिकाका सदस्यहरुले आफ्नो अधिकार र कार्यक्षेत्रको बारेमा अध्ययन गर्नुप¥यो, जिम्मेवारी दिएका छौँ” उनले भने । वडासदस्यहरुलाई अधिकार पूर्ण रुपमा प्रदान गरिएको भन्दै अस्पष्ट भएको खण्डमा ऐन पढेर मात्र अधिकार खोज्न मेयर गुरुङ्गले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: