क्यानको केन्द्रिय बैठक आज, पारसको विषयमा गहन छलफल नहुने

310
0
Share:

काठमाण्डौ।  नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय कार्यसमितिको बैठक आज (आईतबार) बस्दैछ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन फुकुवा गरेपछि संघको कार्य समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

बैठकले शसर्त क्यानको निलम्बन फुकुवासंगै कसरी अघि बढ्ने भन्ने बिषयमा निर्णय गर्नेछ । मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन शसर्त फुकुवा गरेको हो । तर क्यानले आईसीसी निर्णयको पुरा विवरण प्राप्त गर्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजीनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताए । ‘कप्तानले राजीनामा दिएको बिषय औपचारिक रुपमा जानकारीमा आएको छैन । तर अनौपचारिक एजेण्डाको रुपमा छलफल हुन्छ ।’ प्याकुरेलले बताए।

कमेन्ट गर्नुहोस्
Share: