
जापान । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह आज (मङ्गलबार) इम्पेरियल प्यालेसमा हुँदैछ । ५९ वर्षीय उनले गएको मे महिनाबाट नै काम थालेका हुन् । तर, उनले आजबाट भने त्यसलाई विभिन्न विधि पुर्याएर औपचारिकता दिन लागका हुन् ।
उनी आज ६.५ मिटर उचाइको ताकामिकुरा गद्धीमा चढेर यसको औपचारिकता पूरा गर्ने छन् । स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट् नोरुहितो सेदेन– मात्सु –नो –मा( स्टेट रुम)मा आउने र उनको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन् ।
त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नेछन् र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् । साम्राज्ञी मासाको पनि स्टेट रुममा आउनेछिन् र आफ्नो आसनमा बस्नेछिन् । ३० मिनेट लामो समारोहपछि सम्राटले मन्तव्य दिनेछन् । त्यसपछि प्रधानमन्त्री शिन्जो आबेले बधाई सम्बोधन गर्नेछन् ।
समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा सोमबार बाँडिएको कार्यक्रम पुस्तिकामा जनाइएको छ ।
नयाँ सम्राटलाई बधाई तथा शुभकामना दिन १७० भन्दा बढी देशका प्रतिनिधिहरु राजधानी टोकियो पुगिसकेका छन् । त्यसमा नेपालका राष्ट्रपति विद्या भण्डारीदेखि बेलायतका युवराज चार्ल्ससम्म रहेका छन् । विदेशी अतिथीलाई सम्राटले चिया पार्टीको पनि आयोजना गर्नेछन् । साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ ।
