अनुशासित भएर तिहार मनाउन सरकारको अनुरोध, पटाका प्रयोग गरे कारवाही

543
0
Share:

काठमाण्डौ। गृह मन्त्रालयले तिहारलाई अनुशासित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन अनुरोध गरेको छ । विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौं ।’

सो गतिविधि गरेमा प्रचलित कानून अनुसार कारवाही गर्ने व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारवाही हुने जनाएको छ ।

दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: