१९ वर्षअघि बलात्कारपछि हत्या गरेर भागेका दोषीलाई नेपाल ल्याइयो

744
0
Share:

काठमाडौं । १९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापाका लिलाराज गौतम पक्राउ गरेका छन् ।

चन्द्रगढी–३ स्थायी घर भएका उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको थियो । अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएको थियो । जानकारी आएपछि फेब्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो ।

२०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चालआली जंगलको रुखमा फेला परेको थियो ।

घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकोमा प्रतिवादी लिलाराजलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो ।

तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा दिएको पुनरावेदन पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गर्यो । त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो ।

लिलाराज २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी सर्वोच्चले बाँकी कैद असुल गर्न आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: