पोखरा पर्स्याङका खनाल परिवार शोकमा, सञ्जयको शव हेलिकप्टरबाट ल्याइयो

Share:

पोखरा । पोखरा-५ पर्स्याङका खनाल परिवार अहिले शोकमा छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेस क्याम्प नजिकै हिउँमा पुरिएर परिवारका एकमात्र छोरा १८ वर्षका सञ्जय खनालको मृत्यु भएपछि परिवारजन शोकमा डुवेका छन् । सञ्जयकी एक दिदी मात्र छन् ।

सञ्जय काठमाण्डौमै कक्षा १२ मा अध्ययनरत थिए । चाडपर्वमा छुट्टी मनाउन घर फर्किएका सञ्जय सोमबार दुई साथी सहित बेस क्याम्पतर्फ निस्किएका थिए । सञ्जयका पिता युवराज खनालसहित परिवार अचेत अवस्थामा छन् ।

सञ्जयसंगै घुम्न गएका पोखरा–११, फूलवारीका २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ कै १८ वर्षीय निरञ्जन कोइराला गम्भीर घाइते भएका छन् । उनीहरूको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा एक्कासी हिँउको ढिस्कोले पुरिएर सञ्जयको मृत्यु भएको हो । दुई साथी घाईते भए ।

सञ्जयको शव घटनास्थलबाट पोखरा ल्याउन कठिन भएको थियो । सञ्जयको शव बिहीबार बिहान मात्र हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो । उनको खोजी बुधबारै गरिएपनि प्रतिकुल मौसमका कारण सफल हुन सकेको थिएन ।

उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि घरमा लगी त्यसपछि सेती नदीस्थित तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: