स्थानीयको आरोप– महेन्द्रगुफाको आम्दानी लिने तर गुफा व्यवस्थापनका लागि केहि नगर्ने ?

302
0
Share:

रञ्जन अधिकारी पोखरा, २९ कार्तिक / पोखराका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् वडा नं. १६ बाटुलेचौरस्थित महेन्द्र गुफा र चमेरे गुफा । यी गुफाका स्वामित्व स्थानीय विन्ध्यवासिनी उच्च माविको अधिनमा छ । तत्कालिन राजा महेन्द्रको भ्रमणपछि स्थानीयले विद्यालय सञ्चालनका लागि गुफाको रेखदेख गर्ने र त्यसबाट प्राप्त हुने आम्दानी विद्यालयलाई हुने गरि पाउन बिन्ती गरेअनुसार २०३२ सालपछि राजा वीरेन्द्रको आदेश अनुसार नै हालसम्म विद्यालयले नै यी दुई गुफाबाट प्राप्त आम्दानी भोगचलन गर्दै आएको स्थानीय बताउँछन् । विद्यालयले दशकौंदेखि वार्षिक लाखौं रकम लिएर पनि पर्यटकीय पूर्वाधार निर्माण तथा व्यवस्थापनमा चासो नदेखाएको आरोप स्थानीयवासीले लगाएका छन् । तर, विद्यालयले भने पाँच वर्ष यता आम्दानी हुने गरेपनि त्यसअघि विद्यालयकै खर्चमा गुफा व्यवस्थापन गर्दै आएको बताएको छ ।
mahendra_cave
गुफाको दिगो पर्यटकीय विकास र सामुदायिक विकास अभियान सुरु गर्ने भन्दै स्थानीयवासीले २०६४ सालमा गुफाक्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था नै गठन गरेको बताउँछन् । संस्था स्थापनाको तीन वर्ष क्रियाशील रहेपनि त्यसपछि सुस्ताएकामा अहिले फेरि गुफा प्रवद्र्धनका लागि भन्दै जुटेको उनीहरुको भनाई छ । संस्थापक अध्यक्ष गोविन्द बस्नेत पोखराकै एक परिचय र स्थानीय समुदायको चौतर्फी विकासको आधार रहेको महेन्द्रगुफालाई समयसापेक्ष विकसित गर्नुपर्ने आश्यकता औंल्याउँछन् । ‘सामुदायिक विद्यालयले अहिले राज्यबाटै प्रशस्त अनुदान पाईरहेको अवस्था छ । तर, आर्थिक सहायताको नाममा दशकौं अघिदेखि सञ्चालनकै आधिकारिकता ओगटेर यसको आम्दानी एकलौटी रुपमा लिरहँदा गुफा निकट टोलहरुको विकास हुन नपाएको तितो यथार्थ छ ।’ बस्नेतले बिग एफएमसँग भने ।

‘युद्धकालमा त पर्यटकीय क्षेत्र समेत धराशायी बनेको हो तर त्यसपछि वार्षिक ५० लाख सम्म टिकटबाट उठ्ने गर्दछ । आम्दानी अनुसार पूर्वाधार निर्माणमा लगाानी खै त ?’ बस्नेतले थपे– ‘सात वर्ष अघि गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था गठन भएपछि हाम्रै पहलमा गुफाको अवस्था यस्तो भएको छ । नत्र, विद्यालयले व्यवस्थापनमा उदासिनता देखाउँदै आएको छ ।’

तर, विन्ध्यवासिनी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष नरनाथ भट्टराईले भने गुफाबाट प्राप्त आम्दानीलाई गुफाकै व्यवस्थापन र पूर्वाधार निर्माणमा खर्च गरेको प्रतिक्रिया दिए । ‘गत आर्थिक वर्षमा भौतिक पूर्वाधार र व्यवस्थापनमा करीब २६ लाख रुपैंया खर्च गरिएको छ ।’ बिग एफएमसँग कुरा गर्दै भट्टराईले भने – ‘जुन काम महेन्द्र गुफा प्रवद्र्धनका लागि भईरहेको छ, त्यो पर्याप्त पक्का पनि छैन । ठूलो क्षेत्रफलमा गर्नुपर्ने धेरै काम छ । तर, त्यहाँबाट प्राप्त आम्दानी शैक्षिक क्षेत्र र गुफा व्यवस्थापनमा मिलाएर खर्च भएको छ । केहि नगरेकै भन्ने होईन ।’

स्थानीय विद्यालयमा शिक्षाकै लागि खर्च गरिएको रकममा त्यसो भए विरोध किन भन्ने प्रश्नमा भट्टराईले भने– ‘विरोध किन गरिएको त्यो त उहाँहरुले नै भन्ने कुरा भयो । तर, गुफा व्यवस्थापनमा ध्यान दिएकै छौं । आम्दानी अन्त कहिँ खर्च भएको छैन ।’ स्थानीयले विद्यालयले वार्षिक कति आम्दानी गर्छ र कति खर्च गर्छ भन्ने कुरा सार्वजनिक नभएको गुनासो गरिरहँदा अध्यक्ष भट्टराईले भने यसतर्फ चासो हो भने विद्यालयमै आएर हेर्न आग्रह गरे ।

स्थानीयले गठन गरेको गुफाक्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाले गुफा व्यवस्थापनको जिम्मा लिने बताईरहँदा अध्यक्ष भट्टराईले भने विद्यालय अन्तर्गत नै गठित महेन्द्रगुफा व्यवस्थापन समितिले हेर्दै आएको बताए । नजिकैको चमेरे गुफा पनि विद्यालयले टेण्डर नै खुलाएर सञ्चालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष गुरुदत्त भट्टराईले अब महेन्द्र गुफालाई विशेष पार्क सहितको पर्यटकीय क्षेत्रका रुपमा विकास गरी स्थानीय सामुदायिक चौतर्फी विकासमा योगदान गर्दै गुफा सेरोफेरो बाटुलेचौर–अर्मला,–लामाचौर क्षेत्रमा रहेका विविध सम्पदाहरुको संरक्षण र पर्यटकीय प्रवद्र्धन गर्नुपर्ने खाँचो औंल्याउँछन् ।

संस्थाका अध्यक्ष गुरुदत्त भट्टराईकै अध्यक्षतामा शनिबार भेला पनि बस्यो । संस्थाका सल्लाहकारहरु कृष्णप्रसाद अधिकारी, रामबहादुर बानियाँ, सुवास अधिकारी, उपाध्यक्ष शुशिल बस्नेत, सचिव यम कार्की, खेलकूद तथा सांस्कृतिक संयोजक अनिल नेपाली लगायतले गुफा स्थलसँगै आकर्षक पार्क बनाउने, राज्यद्वारा यस क्षेत्रलाई राष्ट्रिय गुफा क्षेत्र घोषणा गर्न लगाई राष्ट्रिय गुफा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आवधिक गुफा महोत्सव आयोजना गर्ने अभियानमा संस्था लागेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: