
आगामी मंसिर १४ गते देशभर उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र भएकाले कास्की क्षेत्र नम्बर २ लाई अझ बढी महत्वका साथ हेरिएको छ । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गएको १५ फागुनमा निधन भएपछि यो क्षेत्र रिक्त छ ।
दलहरुलाई उम्मेदवार छान्न सकस परिरहेका बेला ठूलो पार्टी नेकपाले जिल्लाबाट केन्द्रमा रविन्द्र पत्नी विद्या भट्टराईको एकल नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको छ भने कांग्रेसले आकांक्षी जति सबै १६ जनाकै नाम सिफारिस गरेको छ । वैकल्पिक पार्टीका रुपमा स्थापित साझा पार्टीले भने औपचारिक रुपमै उम्मेदवार घोषणा गरिसकेको छ ।
उम्मेदवार छनोटको दौडमा पहिलो बन्दै पार्टीले रजनी केसीलाई चुनावी मैदानमा उतारेको छ । लामो समय कांग्रेसमा सक्रिय उनी गएको २८ भदौमा साझा पार्टी प्रवेश गरेकी थिइन् । प्रवेश समयबाटै रजनीले कास्की–२ को टिकट पाउने अनुमान गरिएको थियो । विभिन्न सङ्घसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी के.सीले विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन् । प्रस्तुत छ उम्मेदवार के.सीसँग बिगखबरकर्मी अनुप पौडेलले गरेको कुराकानीको सम्पादित अंश :-
कास्की–२ को उपनिर्वाचनमा रजनी केसीको उम्मेदवारी किन ?
अहिलेको वर्तमान परिपे्रक्षमा जनताको दलहरु प्रतिको वितृष्णा बढिरहेको छ । जीवनस्तर उकास्ने काम र जनताले प्रत्यक्ष महशुस गर्ने गरी काम हुन सकेको छैन ।
जनताको दलहरु प्रति बढिरहेको त्यही वितृष्णा घटाउन र जनताको जीवनस्तर उकास्ने गरी काम गर्न मैले उम्मेदवारी दिएकी हुँ । साथै राष्ट्रको विकास र समृद्धका लागि नै मेरो उम्मेदवारी हो ।
राजनीतिक दलका नेताहरुले चुनावताका गरिएका वाचा पूरा भएन भन्ने जनताको गुनासो धेरै सुनिन्छ । चुनावी प्रतिवद्धता पूरा गर्न प्रतिवद्ध हुनुहुन्छ ?
मैले गरेका प्रतिवद्धता पूरा गर्न म निकै प्रतिवद्ध छु । मैले जे जति प्रतिवद्धता जनाएकी छु, म ती प्रतिवद्धता पूरा हुने गरी काम गर्ने छु ।
साझाबाट उम्मेदवारी दिइसकेपछि म जितेको खण्डमा सांसदको काम, कर्तव्य र जिम्मेवारी भित्र रहेर काम गर्न प्रतिवद्ध छु । कास्की क्षेत्र नं २ र पूरा देशकै लागि काम गर्ने प्रतिवद्धता जनाउँछु । यसैले मेरो उम्मेदवारीलाई सकारात्मक तरिकाले लिईनु पर्छ ।
अब चुनाव पनि नजिकिँदै गएको छ । कास्की–२ का जनता सामु पुग्न केके गर्दै हुनुहुन्छ ?
म यही भूमिबाट आएकी हुँ, त्यसैले कास्की क्षेत्र नं २ र कास्कीका सारा जनताले मलाई चिन्नु भएको छ । मलाई मेरो सामाजिक एवं राजनीतिक कामले परिचित बनाएको हुनाले म यहाँ नौलो अनुहार होईन ।
चुनाव आउँदा जनतासामु पुग्नु स्वभाविक हो । तरपनि जनता सामु पुग्नका लागि हामीले पार्टीको निर्वाचन परिचालन समिति एवं निर्वाचन प्रचार प्रसार समिति गठन गर्दैछौँ । समितिमार्फत हामी दैलो दैलोमा पुग्छौँ । साथै हामी सामाजिक सञ्जालमार्फत पनि जनतासँग पुग्दै आफ्नो कुरा राख्छौँँ । यसमा धेरै विचलित हुनु पर्ने अवस्था छैन ।
तपाईंले जित्ने आधार चाहिँ के के छन् ?
साझा पार्टीले यस निर्वाचनलाई जनमत सङ्ग्रहका रुपमा लिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टीप्रतिको जनताको वितृष्णा र प्रतिपक्षी प्रतिको विश्वासको स्खलन नै हाम्रो जीतको आधार हो । साझा पार्टिलाई विश्वास गर्ने आधार भनेको साझाका चार मूलभूत सिद्धान्तहरु – पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टता हुन् ।
अस्थीरता हटेर स्थिरताले जनतालाई खुसि प्रदान गर्छ भन्ने विश्वास अहिले अविश्वासमा परिणत भएको छ । यस्तै जनता अहिले प्रतिपक्षी दलको भूमिकासँग समेत असन्तुष्ट रहेका छन् । यसर्थ सरकार र प्रतिपक्षी दल प्रतिको असन्तुष्टीले साझा पार्टी प्रति आकर्षण बढाएको छ ।
अब जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजिरहेको मैले अनुभूति गरेकी छु । अब जनताले केबल भिजनको कुरा गरेर हुँदैन अब नयाँ सोचले जनता अघि बढ्नु पर्छ । जनताले आफ्नो आवाज कसले उठाउँछ ? भनेर राजनैतिक शक्तिको खोजी गरिरहेको अवस्थामा अब साझा पार्टीले जनताको आवाज उठाउँछ ।
कास्कीका बुझेका जनताले यो अवसर खेर फाल्दैनन् भन्नेमा म विश्वस्त छु । र, हामी नै कास्की क्षेत्र नं २ मा विजयी हुनेछौं । हामी भ्रष्टाचार विरोधी अभियानमा पनि लागि परेका छौँ ।
यस्तै सांसदलाई ठेकेदार बनाउने सांसद विकास कोषको पनि साझा पार्टी विरोध गर्छ भने राइट टु रिकल र राइट टु रिजेक्टको पनि वकालत गर्छ । यसैले हामीलाई जनताले विश्वास गर्ने यथेष्ट आधारहरु छन् । यस्तै आधारहरुले गर्दा हामीले आगामी उपनिर्वाचन जित्ने सम्भावना प्रबल छ ।
दुई दशक बढी समय संलग्न पार्टी काँग्रेसलाई छाड्नुभयाे, साझा पार्टीकाे नेतृत्वमा आइसक्दा पहिलेकाे ह्याङ बाँकी रहँदाे हाे नि ? कस्ताे छ अहिले फरक पार्टीमा रहँदा कांग्रेस प्रतिकाे धारणा ?
विचारको हिसाबले म लोकतन्त्रमा विश्वास गर्ने मानिस हुँ । सुरुबाटै म विचार र आस्थाले लोकतन्त्रवादी व्यक्ति हुँ । पार्टी जुन भएपनि म लोकतान्त्रिक विचार धारामा अडिग छु ।
पार्टीगत रुपमा भन्ने हो भने, मैले हिजोका दिनको राम्रा अनुभव र राम्रा पक्षलाई अङ्गिकार गर्दै जाने हो । हिजो सिकेका राम्रा कुरा अनुभवका रुपमा लिने र हिजोको पार्टीको गलत कामलाई नयाँ पार्टी मार्फत परित्याग गर्ने हो । त्यसैले सकारात्मक पक्षलाई लिएर हिँड्नु पर्छ भन्ने कुरामा म विश्वास गर्छु ।
अन्त्यमा, अहिले देशको राजनीतिक अवस्था बारे यहाँको धारणा के छ ?
नेपाली जनतालाई बहुमतको सरकार आएर आफ्नो मिसन, भिजन र लक्ष्य अनुसार काम गर्छ, हामी नेपाली आफ्नो आधारभूत आवश्यकता परिपूर्ति गरी विकासको गन्तव्यमा पुग्छ र नेपाल सुन्दर राष्ट्रमा परिणत हुन्छ भन्ने लागेको थियो ।
तर जनताले जे सोचेका थिए अहिले त्यो हुन सकेको छैन् । जनताले नेतृत्वसँग गरेका सबै आशहरु स्खलित हुँदै गएका छन् । प्रतिपक्षी दलले पनि खासै केही गर्न सकेको छैन । राजनीतिक दलका प्रतिनिधिले जनतालाई गफमा भुलाएका छन् । यो कुरा जनताले बुझिसकेकाले अब साझा पार्टी नै निर्विकल्प बन्नेमा कुनै दुई मत छैन ।
[अडियो कुराकानी बिग एफएमबाट प्रसारण भइसकेको छ ।]
