
१ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबार बसेको बैठकमा सहमति हुनै लाग्दा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठक भाँडेका छन् ।
संविधानका विवादित विषयलाई संविधानसभामा कसरी पेश गर्ने भन्नेबारे शीर्षनेताहरु सहमतिमा पुगिसकेका बेला पौडेलले सभापति डा. बाबुराम भट्टराईविरुद्ध हस्ताक्षरको कुरा झिकेपछि डा. भट्टराईले बैठक स्थगनको घोषणा गरे ।
यसरी जुटेको थियो सहमति
सोमबार दिउँसो सम्वाद समितिको बैठक बस्नुपूर्व सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतले छलफल गरेका थिए ।
संविधानका अन्तरवस्तुमा सहमति हुन नसकेको अवस्थामा सम्वाद समितिको प्रतिवेदन कसरी पठाउने भन्ने प्रक्रियाका विषयमा नेताहरुले दिनभरि गृहकार्य गरेका थिए ।सम्वाद समितिको बैठकमा सहमति नभएपछि सभापति भट्टराईले आधा घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरुसँग छुट्टै छलफल गरे ।
डा. भट्टराईको कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपाका नेता सूर्यबहादुर थापा सहभागी थिए ।
सो छलफलमा सभापति डा. भट्टराईले वीचको बाटोबाट अघि बढ्ने प्रस्ताव गरेका थिए । भट्टराईले संविधानका यी विषयमा सहमित भए र यी विषयमा भएन भन्ने समितिको प्रतिवेदनकमा जनाई असहमतिका विषयलाई अनुसूचिमा समावेश गरेर संविधानसभामा पठाऔं भन्ने भट्टराईले प्रस्ताव गरेका थिए ।
सभापतिको प्रस्तावमा कांग्रेस र एमालेका नेताहरुले सुरुमा अन्कनाए पनि पछि ठीकै छ भनेर सहमति जनाएका थिए । प्रचण्ड र विजय गच्छदारले पनि भट्टराईको प्रस्तावमा सहमति जनाएका थिए । सूर्यबहादुर थापाको पनि त्यसमा सहमति थियो ।
पौडेलले यसरी भाँडे
शीर्ष तहमा छलफल र सहमतिपछि पुनः सुरु भएको सम्वाद समितिको बैठकमा कांग्रेस उपसभापति पौडेलले बोल्न समय माग गरे । सभापति डा. भट्टराईले समय दिनासाथ पौडेलले सभापति भट्टराईविरुद्ध समितिमा ४३ जना सभासदको हस्ताक्षर संकलन भएको जानकारी गराए । पौडेलले शीर्षनेतासँगको छलफलमा भने यसबारे केही बोलेका थिएनन् ।
कांग्रेस नेता पौडेलले सभापतिविरुद्ध हस्ताक्षरको कुरा झिकेपछि डा. भट्टराईले ‘यो त गम्भीर कुरा भयो, यसको कानूनी र राजनीतिक स्थिति के हो, अध्ययन नगरी अगडि बढ्न सकिन्न भन्दै बैठक स्थगनको घोषणा गरे । पौडेलले अन्तिम घडीमा आएर हस्ताक्षरको बखेडा नझिकेको भए सोमबार सम्वाद समितिको प्रतिवेदन तयार पार्नेबारे सहमति जुटिसकेको दाबी समितिका एक सदस्यले अनलाइनखबरसँग गरे ।
सम्वाद समितिको बैठकमा कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावबारे लामो समयदेखि विवाद भइरहे पनि मध्यमार्गी बाटोबाट समाधान खोज्ने सभापति डा. भट्टराईको प्रयासमा फेरि एकपटक विश्राम लागेको छ ।
source: onlinekhabar

