पर्यटन वर्ष सफल पार्न तनहुँको सिद्धगुफामा पूर्वाधार निर्माण

Share:

दमौली – तनहुँको भिमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत सिद्धगुफामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण गरिएको हो ।

धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङ सहितको सिँढी, प्रतीक्षालय, वनभोज स्थल र पार्किङस्थल निर्माण गरिएको सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त ३६ लाख रुपैयाँ, समितिको ६ लाख रुपैयाँ र स्थानीयको सहयोगबाट उठेको १० लाख रुपैयाँ गरी ५२ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएको उनले बताए ।

समितिले विक्रम संवत् २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजना बमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने १ किलोमिटर दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, ३ वटा शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।

भ्रमण वर्ष सन् २०२० मा यस ठाउँमा करीब १ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: