
पोखरा। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सहित विद्यार्थीको आकर्षण बढाउने उदेश्यले पोखराको एक सहकारीले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।
विरुवा बचत तथा ऋण सहकारी संस्थाद्धारा पोखरा २२ पुम्दीभुम्दी तारेभीरस्थित विकट दुर्गम स्थानमा रहेको दुर्गा आधारभूत विद्यालयका ४० जना विद्याथीलाई एक लाख मुल्य बरावरका पोषाक एवम् शैक्षिक सामाग्री वितरण गरेको हो ।
कास्की जिल्ला वचत संघका उपाध्यक्ष भेषराज बरालले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सहकारी संस्थाहरुले शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको विकासमा आम्दानीको केही अंश लगानी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले यस्ता सहयोगले शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
२०२९ सालमा स्थापित सो विद्यालयमा हाल ४० जना विद्यार्थी र ११ जना शिक्षक शिक्षिका अध्ययन अध्यापनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा गुरुङले जानकारी दिइन् ।
