
काठमाडौँ — उपनिर्वाचनका लागि नेकपाले आफ्नो उम्मेदवारहरुको नामको टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । प्रतिनिधिसभाका लागि कास्की-२ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुन्। सांसद उत्तरकुमारको गाडीदुर्घटनामा परी निधन भएको थियो।
यस्तै, भक्तपुरमा १ ‘क’ मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने भएको छ।
को हुन् विद्या ?
नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन् । रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।
रवीन्द्रको निधनपछि नेकपाका शीर्ष नेताहरु, कार्यकर्ता र शुभचिन्तकले उनलाई राजनीतिमा आउन आग्रह गरे । उनले पनि चुनाव लड्ने मनस्थिति बनाइसकेकी थिइन् । कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको नाम सिफरिस गरेको थियो ।
रवीन्द्रको अधुरा काम पूरा गर्ने अठोट
०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । हाल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् ।
०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घरव्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल उनी अहिले रत्नराज्य क्याम्पसमा प्राध्यापन गरिरहेकी छन् ।
रवीन्द्र र विद्या अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिब तीन दशकअघि भेटिएका थिए । संगठनमा रवीन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । जीवन संगिनीको रूपमा रवीन्द्रलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकी विद्यालाई उनको निधन पछि रिक्त रहेको क्षेत्रमा नेकपाले प्रतिस्पर्धामा उतारेको छ ।
भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई ।
रविन्द्र पत्नी मात्र होइनन् विद्या, यस्तो छ राजनीतिक जीवन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका थिए अधिकारी ।कास्कीका रविन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रविन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे ।
विद्याले राजनीतिक करिअर अगाडि बढाउन चाहेको भए उनी यतिबेलासम्म सांसद र पार्टी केन्द्रीय सदस्य बनिसक्ने थिइन् । शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । भलै, त्यसबेला त्यो क्याम्पसमा नेविसंघको पकड रह्यो ।
समकालीन भए पनि विद्यार्थी राजनीतिमा विद्या भट्टराई आफूहरुभन्दा एक कार्यकाल अघि नै केन्द्रीय कमिटीमा पुगेको ममता बताउँछिन् । दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट सभासद र पार्टी केन्द्रीय सदस्य रहेकी ममता अहिले नेकपा केन्द्रीय सदस्य छिन् ।
दुई छोरा जन्मिएको अवधिमा रविन्द्र अधिकारी धमाधम पार्टी राजनीतिको खुटकिला चढिरहेका थिए । अनेरास्ववियुको नेतृत्वबाट पार्टी राजनीतिमा आएसँगै उनले कास्कीको कमाण्ड सम्हाल्न पाएका थिए । त्यो अवस्थामा विद्याले घरपरिवार सम्हालेर उनलाई पूरा समय राजनीतिमा सक्रिय हुन सघाइन् । अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्, विद्या भट्टराई । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम विवाह भयो । विद्या भट्टराई तत्कालीन एमालेका सबै नेता-कार्यकर्तामाझ परिचित छिन् । राजनीतिक परिवारमा जन्मेर राजनीति नै गरेकी उनका लागि राजनीतिको बाटो खुला छ ।
वाइडबडी विमान खरिद प्रकरणबारे लेखा समितिको अध्ययन प्रतिवेदन आएपछि नागरिक उड्यन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले भनेका थिए, ‘मैले गलत गरेको छैन भन्ने कुरा भगवान छन् भने उनलाई थाहा छ । नत्र, प्रधानमन्त्री र मेरो जीवन संगिनी विद्यालाई थाहा छ । जति प्रष्टीकरण दिए पनि एकथरी मान्छेको नियत नै त्यस्तै छ, तर समयक्रममा यो काण्डको असली खलनायक उदांगिने छन् ।’
मन्त्रीले वाइडबडी काण्डमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाटै सन्यास लिने अनलाइनखबरकै अन्तर्वार्तामा बताएका थिए । वाइडबडी काण्डबारे छानविन नहुँदै उनी बुधबार ताप्लेजुङमा हेलिकप्टर दुघट्नामा परेर संसारबाट विदा भए ।
अब आफ्नो पतिको आत्माविश्वासको दीयो जलाउन एक्ली विद्या छिन् । यसका अतिरिक्त उनका साथमा दुई छोराहरु पनि छन् ।
