रञ्जन अधिकारी पोखरा, २ मंसीर / बिग एफएमको प्रस्तुतीमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले गत कार्तिक २८ देखि ३० गतेसम्म पोखरामा आयोजना गरेको ‘वृहत शैक्षिक मेला’ सफलतापूवर्क सम्पन्न भएकोमा आयोजकले खुशी व्यक्त गरेको छ । सम्पूर्ण विद्युतीय तथा छापा सञ्चार माध्यम, पोखरेली विद्यार्थी र अभिभावको साथले नै मेला दोस्रो संस्करण पनि भव्यतापूर्वक सम्पन्न भएकोमा आयोजकले सबैप्रति आभार व्यक्त गरेको छ ।
मेला समापन पछि आयोजित क्लोजिङ सेरेमोनीमा बोल्दै प्रमुख अतिथि युवा साहित्यकार अमर न्यौपानेले पछिल्लो युवा पुस्ताले पनि पुस्तक पढ्ने बानीको विकास गरेको भन्दै साहित्यले सही दिशाबोध गर्ने बताए ।“‘विदेश जाँदै हुनुहुन्छ भने पाँच ओटा पुस्तक पनि संगै लैजानुहोस् ।” न्यौपानेले भने– “अर्को एक सय जना साथीले पढ्नृुहुन्छ । टाढा गएपछि आफ्नो भुगोल त्यही पाउनुहुनेछ ।”
केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले ईक्यानसदैव विद्यार्थीकै भविष्यप्रति चिन्तित रहेको जनाउँदै ईक्यानले विदेश पठाउन नउक्साउने बताए । “बगेको खोला रोक्न सकिन्न । विदेशमा उच्च शिक्षा हासिल गर्ने युवाको लहरलाई रोक्न सकिन्न ।” उनले भने– “युवाहरु सही परामर्शको अभावमा त्यहाँ गएर जीवन बर्बाद हुनुभन्दा अघि हामीले यहाँ नै सही परामर्श दिएका छौं । यो त राम्रो कुरा हो भनेर सबैले बुझ्नुपर्छ ।”
हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई ईक्यानले सही परामर्श दिएर राम्रो काम गरेको बताए । “हामी पढाउँछौं, ठाउँसम्म पु¥याउन तपाईंहरु सहयोग गर्नुहुन्छ ।” पन्तले भने– “शिक्षाकै क्षेत्रमा लागेका छौं । खुशी लागेको छ ।” पन्तले भने ।
आयोजक ईक्यानका अध्यक्ष महेश भण्डारीले तेस्रो संस्करण झनै वृहत हुने भन्दै दोस्रो संस्करण यसरी सफलतापूर्वक सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिए । उनले सबैको हौसला र साथले नै अघि बढ्ने प्रेरणा मिल्ने प्रष्टाए । मेला संयोजक तथा संस्थाका उपाध्यक्ष डिबि गुरुङले उल्लेख्य संख्यामा विद्यार्थी तथा अभिभावक उपस्थित भएकाले नै मेला सफल रहेको बताए ।
मेला व्यवस्थापनको जिम्मा लिएको वान अप कम्युनिकेशनका सिईओ रविशंकर झाले ईक्यानसँग सहकार्य गर्दा आफू सधैं सहज अनुभव गर्ने भन्दै यसरी नै भविष्यमा अघि बढ्ने बताए । बिग एफएम सँगै पोखराका सबै सञ्चारमाध्यमको सहयोगको उनले प्रशंसा गर्न पनि छुटाएनन् ।
सचिव मिलन तिवारीले सञ्चालन गरेकोकार्यक्रममा मेला प्रिजेण्टर बिग एफएमका कार्यक्रम संयोजक संजोक बस्याल, टाईटल स्पोन्सर ट्रिनिटी एजुकेशनका डिबि गुरुङ, सबटाईटल स्पोन्सर किंग्स ईन्स्टिच्यूट पोखराका सन्तोष शाही, मेन स्पोन्सर ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूटका सन्दिप अर्याल, प्रायोजक डेल्टा एडुकेयरका प्रदीप पोखरेल लगायतले बोलेका थिए । ईक्यानका प्रतिनिधिहरु, ईक्यान चितवनका अध्यक्ष सोम बहादुर कँडेलको पनि उपस्थिति रहेको थियो ।
गत शुक्रबार नेपाली फिल्मका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले उद्घाटन गरेर मेलाको शुरुवात भएको थियो । तीन दिने मेलामा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिएका थिए । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत सहभागिता जनाएका थिए ।
मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेको थियो । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको थियो भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको थियो ।
मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका थिए । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको थियो


