
पर्सा । पर्सा प्रहरीले गोली हानेर एक जना अपरहणकारी पक्राउ गरेको छ । साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।
पर्साको वीरगञ्जको सिर्सिया खाल्वाटोलाबाट प्रहरीले मंगलबार राति पर्साको पोखरीया नगरपालिका–८ सोनवारी हरुवाटोलका २० वर्षीय राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिई बालकको सकुशल उद्धार गरेको हो। गोली दासको दाहिने खुट्टामा लागेको छ ।
दास पक्राउबारे जिल्ला प्रहरी कार्यालय पर्साले आज (बुधबार) १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले बताए।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका दासको भने अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
