माधब पनेरु, पोखरा २ मंसिर । जिल्ला प्रहरी कार्यलय कास्कीले चार जनालाई पेस्तोल तथा बेहोस बनाउने क्लोरोफन सहित पक्राउ गरेको छ । यस अघि बिभिन्न स्थानमा अपराधिक कृयाकलापमा संलग्न भएको आरोपमा जेल भुक्तान गरीसकेका सुनसरीका महिन नारायण चौधरी , सोही जिल्लाका ज्ञानु चौधरी, पर्वतका ज्ञान बहादुर गुरुङ्ग,भारत मोतिहारीका बिट्ट सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट एक थान चाईनिज पेस्तोल सो को ६ राउण्ड गोली र बेहोश बनाउने केमिकल सहित पक्राउ गरी मुद्धा दायर गरिएको छ ।
उनिहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा दायर गरिएको प्रहरीले जानकारी दिएको छ । पोखराको नाकामा क्रस चेक गर्ने क्रममा भकुण्डे बाट पेस्तोल सहित महिन नारायण चौधरीलाई पक्राउ गरिएको थियो भने अरु अनुसन्धान बाट अन्य तिन जनालाई पक्राउ गरिएको हो । चौधरीले यस अघि पनि पोखराको चाउथेमा पनि चोरी गरेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बशन्त कुमार लामाले पछिल्लो समय पोखरामा हतियार सहित केही अपराधिक कृयाकलापमा संलग्न मानिसहरु पक्राउ पर्दे गएकाले पोखरा असुरक्षीत बन्दै गएको बताए । प्रहरीको सक्रियताको कारण यस्ता अपराधिहरु प्क्राउ परे पनि उनिहरुको योजना खतरनाक रहेको लामाको भनाई थियो । सुरक्षाको लागि सर्बसाधारणहरु पनि चनाखो हुनुपर्ने प्रमुख लामाले अनुरोध गरे ।
कारागार बाट छुटेका हरु पुनः अपराधिक कृयाकलापमा सहभागि हुने गरेको लामाले जानकारी दिए । त्यसैले प्रहरीले कारागारमा बिभिन्न सजायमा जेल भुक्तान गरेकाहरुलाई निगरानी गर्न थालिएको छ । पछिल्लो समय प्रहरीले जेलमा भएकाहरुको सबै जानकारी राख्न थालेपछि कारागारबाट छुटेकाहरु नै अपराधिक कृयाकलापमा लाग्ने गरेको थाहा हुन आएको लामाले बताए ।
सिसि क्यामेराको बेहाल
पोखरामा अपराधिक कृयाकलाप बढ्न थालेको प्रहरीले बताईरहदा पोखराको मुख्य चोकमा रहेका सिसि क्यामेरा सबै बिग्रीएका छन । पृथ्वीचोक, महेन्द्रपुल, सभागृहचोक जस्ता मुख्य चोकहरुमा रहेका क्यामेरा सबै काम नलाग्ने भएका छन । पोखराका मुख्य चोकहरुमा गरि ६ वटा क्यामेरा जडान भएका थिए । अब केही स्थानमा थप क्यामेरा जडान गर्ने कार्य सुरु गर्न लागिएको प्रमुख लामाले बताए ।
सिसि क्यामेरा जडान भन्दा मर्मतमा बढी रकम लाग्ने भएकाले निजि क्षेत्र संग सहकार्य गरेर काम गर्न लागिएको हो । पछिल्लो समय बिग्रीएका सिसि क्यामेरा बनाउन र नयाँ क्यामेरा जडानको लागि काम सुरु गर्ने कास्की प्रहरी प्रमुख लामाले जानकारी दिए । निजि क्षेत्र संग सहकार्य गरेर क्यामेरा जडान गर्न लागिएको उनले बताए । पक्राउ परेका अपराधिहरुले पोखराको सुन ब्यापारीलाई आक्रमण गर्ने योजना बनाएका थिए ।
पछिल्लो समय सरकारले नै प्रत्येक सुन पसलमा अनिवार्य सिसि क्यामेरा जडान गर्न र्निदेशन दिएपनि सबै ब्यापारीहरुले अहिले पनि जडान गरेका छैनन् । केही महिना अगाडी पोखराको न्युरोडमा रहेको मेघा बैकबाट लुटिएको ३१ लाख अहिले सम्म पनि पत्ता लागेको छैन ।

