आज १३५ औं फाल्गुनन्द जयन्तीः प्रदेश १ का १९ स्थानीय तहमा सार्वजनिक बिदा

309
0
Share:

काठमाडौं ।  नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती इलामसहित पूर्वी नेपालका विभिन्न जिल्लामा विविध कार्यक्रम गरी मनाइँदैछ ।

उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति गराएका थिए । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को रुपमा चिनिन्छ ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।

नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

जगनबाज र हंसमती लिङ्देनका छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिएका नरध्वज कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्ध भए । उनको विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको थियो ।

साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ। प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कात्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: