
झापा । भद्रपुर विमानस्थल आज (मंगलबार)देखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकोले मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।
उनका अनुसार एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गएको भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको हो ।
गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डौले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको छ ।
