
बेनी – एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ, तर पर्वतका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् ।
बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेका हुन् ।
उनले सञ्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका रू दुई लाख ९० हजार खर्चिएर खरीद गरेको जानकारी दिए ।
रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । सामान्यतया छ महिनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ । किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् ।
