
पोखरा। ठीक आठ महिना अघि । एसईई परीक्षा दिने विद्यार्थीहरु अन्तिम तयारीमा थिए । फलामे ढोका मानिने एसलएसलीको पछिल्लो रुप एसईई । तर, पनि यसको ह्याङ विद्यार्थीलाई कम्ता हुन्न ।
सबै साथीहरु परीक्षाको तयारीमा रहँदा सप्तरीका प्रशान्त सिंह र रोहन बिक भने दोधारमा परे । पढाई र खेलको बीचमा परे उनीहरु । उसो त नेपाली समाजले पढाई र खेललाई ठ्याक्कै दुई ध्रुबमा राख्छन् । एकातिर एसईई जस्तो परीक्षा सुरु हुनै लागेको छ । अर्कोतिर, थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन यू–१६ प्रतियोगिता खेल्ने टोलीमा नाम निस्कियो ।
क्रिकेटमा भविष्य देखेका उनीहरुलाई यो भन्दा अर्को ठूलो धर्मसंकट सायद अरु थिएन । मिडियाहरुमा नाम आउन थाल्यो, क्रिकेट नै जिन्दगी सोचिरहँदा अगाडि बढ्ने ढोका खुल्यो, त्यसैले परिवारलाई मनाउँदै दुवै जना आफ्नो एसईई परिक्षालाई छाडेर एसिसि इस्टर्न रिजन यू १६ प्रतियोगिता खेल्न थाइल्याण्ड जानका लागि क्याम्पमा बसे । परीक्षा छाडेर थाइल्याण्ड पुगे । जे लक्ष्य थाइल्याण्डतर्फ उड्दा थियो, पूरा गरेर फर्किए प्रशान्त र रोहन । नेपाल प्रतियोगिताकै विजेता बन्यो । प्रतियोगिता जितेर फर्किएपछि निकै चर्चामा आए । तर, फेरि ओझेलमा छन् । गुमनाम जस्तै बन्न पुगेका छन् दुवैजना । प्रशान्त बिग एफएमसँग खुलेर बोल्न तयार भए ।
प्रशान्त अहिले १६ वर्ष पुगे । २०६१ साल असोज १८ मा जन्मिएका सिंह घरका जेठा छोरा हुन् । उनका एक भाइ र एक बहिनी छन् । बुबा नरेन्द्र प्रसाद सिंह र आमा सरिता सिंहको कोखबाट जन्मिएका उनलाई क्रिकेट भनेपछि भोकप्यास नै लाग्दैन । बिहान घरबाट खेल्न हिँडे भने बेलुका अबेर घर पुग्छन् । इस्टर्न रिजन मात्र होइन, आइपिएलसम्म पुग्न चाहान्छन् उनी ।
प्रस्तुत छ, प्रशान्त सिंहसँग बिगखबरकर्मी अनिष भट्टराईले गरेको कुराकानीको सम्पादित अंश
क्रिकेट खेल्न कहिलेबाट सुरु गर्नुभयो ?
म क्रिकेट खेल्न पाँच कक्षाबाट सुरु गरेको हुँ । बस्तीका दाइहरु क्रिकेट खेल्नुहुन्थ्यो, उहाँहरु खेलेको हेरेरनै मलाई क्रिकेट खेल्न मन लाग्यो र म सुरुमा पाँच कक्षामा हुँदा क्रिकेट खेलेको हुँ । एकेडेमी थिएन यहाँ र अहिले पनि छैन आफैँ खेल्ने हो । घर, विद्यालयमा खेलिरहन्थेँ ।
क्रिकेट खेल्न प्रोत्साहन कसबाट पाउनुहुन्थ्यो ?
म भाग्यमानी छु कि मेरो घर नजिकै मेहबुब आलम दाइको घर रहेको छ । मेहबुब आलम दाइले नै मलाई खेल सिकाउनु भयो । आलम दाइ मेरै टोलमा भएपछि उहाँले मलाई सधैँ राम्रो खेल्न सिकाउनुहुन्छ र उहाँले मलाई अझ मिहिनेत गर्न भन्नुभयो । मेहबुब दाइसँगै सिकेर म १६ वर्षमुनिको राष्ट्रिय टिममा परेको हुँ ।
क्रिकेट खेलेर कहाँसम्म पुग्ने लक्ष्य रहेको छ ?
हरेक क्रिकेट खेल्ने, हेर्ने मानिसलाई आइपिएल खेल्न निकै मन हुन्छ । अहिलेकै अवस्थामा त म आइपिएलमा पुग्दिन तर म आइपिएलमा पुग्नका लागि कडा मिहिनेत भने अवश्य गर्नेछु, गर्दैछु । म ब्याटिङ् अलराउण्डरका रुपमा खेल खेल्ने गर्छु । अझै राम्रो बन्नु छ । परिश्रमले उत्कृष्ट बनाउँछ भन्ने सन्देश सिनियर दाइहरुबाट पाएको छु । लक्ष्य पुरा हुने नहुने आफ्नो ठाउँमा छ तर जबसम्म खेल्छु परिश्रम गर्नेछु ।
सबैभन्दा मन पर्ने खेलाडी ?
मलाई क्रिकेट खेल्ने सबै दाइहरु उत्तिकै मन पर्नुहुन्छ । सबैले आफ्नो स्तरबाट राष्ट्रका लागि केही गरिरहनु भएकै छ । तर मलाई चाहिँ क्रिकेट सिकाउनु भएका र नेपालका लागि निकै उत्कृष्ट प्रदर्शन गर्नुभएका मेहबुब आलम दाइ मन पर्छ । उहाँको खेल हेर्दा म निर्क मन्त्रमुग्ध बन्छु । अनि विदेशी खेलाडी मध्य मलाई महेन्द्र सिंह धोनी मन पर्नुहुन्छ ।
सबैलाई आफ्नो मन पर्ने मानिस जस्तै बन्न मन लाग्छ । मलाई पनि मेहबुब दाइ जस्तै बन्न मन लाग्छ । जब म उहाँसँग केही सिकिरहेको हुन्छु अथवा जब उहाँसँग खेलिरहेको हुन्छु, त्यतिबेला मलाई पनि दाइ जस्तै बन्न मन लाग्छ । मैले दाइसँग पनि भन्ने गर्छु । दाइले पनि मलाई अझै राम्रो बन्छौ, खेल्दै जाउ भन्नुहुन्छ । मलाई पनि दाइले त्यस्तो भनेपछि मैले अझ राम्रो खेल्नु पर्छ । दाइको विश्वासलाई जीवित राख्न अझ बढी मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ ।
क्रिकेट खेल्दा घर परिवारबाट कस्तो सहयोग मिल्थ्यो ?
क्रिकेट खेल्दा सुरुमा मलाई त्यस्तो सहयोग मिल्दैनथ्यो । घरमा समस्या धेरै छ त्यसैले, मलाई क्रिकेटमा सहयोग त खासै थिएन । बुवा प्रहरी हुनुहुन्थ्यो तर पछि माओवादी जनयुद्धका बेला जागिर छाडेपछि आर्थिक आर्जन गर्ने माध्यम रहेन र मलाई त्यस्तो सहयोग मिल्दैनथ्यो । घरको अवस्थाले नदिएकाले मैले पनि धेरै गुनासो गर्दिनथेँ ।
घरको जेठो छोरा तपाइँ त, घरको आर्थिक भार घटाउन काम गर्नुपर्छ भन्ने सोच आउँछ कि आउँदैन ?
भनिहालेँ, मेरो घरको आर्थिक अवस्था मजबुत छैन । पछि मैले नै आर्थिक भार घटाउन काम गर्नुपर्छ । तर मसँग सीप भनेको क्रिकेट खेल्ने सीप रहेको छ । म क्रिकेट मार्फत नै घरको आर्थिक अवस्था मजबुत बनाउन चाहन्छु ।
क्रिकेट खेल्दा घर, परिवार, र छिमेक एवं विद्यालयमा के भन्नुहुन्थ्यो ?
मेरो वुवा आमाले मलाई आर्थिक रुपमा मात्रै हो सहयोग गर्न नसक्नु भएको । तर उहाँहरुले मलाई क्रिकेट खेल्न निकै प्रोत्साहन दिनुहुन्छ । ममा उहाँहरुकै हौसलाले क्रिकेटमै केही गर्छु भन्ने सङ्कल्प बोकेको छु । विद्यालयमा पनि साथीहरुले क्रिकेट नछोड खेलिराख भन्छज् । छिमेकीहरुलाई पनि मेरो खेल मन परेरै होला म खेल्दा खेल हेर्न आउनुहुन्छ ।
एसईई परिक्षा छाडेर क्रिकेट खेल्ने सोच कसरी आयो ?
मैले छनौटमा राम्रो खेल प्रदर्शन गरेको थिएँ । क्याम्पका लागि नाम निस्कयो पनि । नाम निस्केपछि भने म क्याम्पमा जानु पथ्र्यो । पढाइ छुट्छ एसईई पनि दिन पाउँदिन भन्ने सोचेर दुख त लागेको थियो । तर मलाई क्रिकेटमै भविष्य बनाउनु थियो । घरमा कुरा गरेँ बुवा आमाले जा भन्नुभएपछि भने मनोबल बढ्यो ।
म क्याम्पमा गएँ र राष्ट्रिय टिममा पनि परेँ । एसईई छुट्नुको दुख भन्दा राष्ट्रिय टिममा छनौट भएको खुसी मनाएँ । पछि थाइल्याण्ड गएर प्रतियोगिता नै जितेपछि त झन् खुसी भएँ । पछि नेपाल आइसकेपछि एसईई पनि दिन पाएँ । नतिजा पनि राम्रै आयो । परिवार, म अनि नातेदार सबैले खुसी मनायौँ ।
एसईई छाडेर क्रिकेट खेल्न हिँड्दा नखेल भन्ने पनि हुनुहुन्थ्यो होला नि ?
धेरैले नखेल भन्नु भएको थियो । तर मलाई मेरो घरबाट पनि साथ थियो र मलाई पनि क्रिकेटमै गर्छु भन्ने भावले गर्दा ती नखेल भन्ने कुरा मानिनँ र म खेल्ने निर्णयमै पुगेँ ।
राष्ट्रिय टिमको क्याम्प भित्र बस्दा कस्तो महशुश गर्नुभयो ?
क्याम्पमा म एकदमै खुसी थिएँ । हरेक खेलमा राम्रै भएको थियो मेरो खेल । सबै साथीहरुसँग नजिक हुने मौका पनि मिल्यो । एकदमै धेरै सिक्न पाएँ । गुरुहरुबाट धेरै सिक्ने मौका मिल्यो । मलाई चाहिँ एसईई छुटेको पिडा नै भएको थिएन क्याम्प भित्र ।
राष्ट्रिय टिमको लागि खेल्न पाउँदा कस्तो लाग्यो ? आफुमा प्रेसर लिनु भयो कि नाइँ?
मलाई सबैभन्दा गर्व राष्ट्रिय टिमको जर्सी पाउँदा लागेको थियो । त्यो जर्सीले ममा उर्जा थपिदिएको थियो । राष्ट्रका लागि खेल्दा राष्ट्र सम्झेर खेलेको थिएँ । प्रेसर त थिएन किनभने कोचले पनि राम्रो भन्नु भएको थियो र साथीहरु पनि धेरै पे्रसर नलिने खालका थिए । रमाइलो वातावरणमा खेल्यौँ र जित्यौँ पनि ।
थाइल्याण्डमा एक खेलमा मौका पाउनुभयो, सबैभन्दा सम्झनलायक के रह्यो ?
मैले क्वाटर फाइनलमा मलेशिया विरुद्ध ओपनिङ बलिङ पाउँदा निकै खुुसी लागेको थियो । त्यो खेलमा मैले ३ंंं.२ ओभरमा ८ रन दिएर १ विकेट हात पारेको थिएँ । प्रतियोगितका जितेर फर्किएपछि सबैले राम्रो भन्नुभयो । सबैबाट तारिफ नै पाएँ । अझ राम्रो गर्नु भनेर धेरैले सल्लाह पनि दिनुभयो । त्यो प्रतियोगिताले मलाई अनुभव दिलायो, त्यो अनुभव प्रयोग गर्दै अब अरु प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सोच रहेको छ ।
१९ वर्षमुनिको टोलीमा समावेश हुन केकस्ता मिहिनेत गर्ने सोच छ ?
म चाहिँ अब क्याम्पको छनौटमा राम्रो खेल खेल्न चाहन्छु । हुन त जहाँ बसेर परिश्रम गरेपनि हुन्छ तर मलाई एकेडेमीमा गएर सिक्न मन पनि लाग्छ । तर परिवार हेर्दा त्यो सम्भव छैन । म आफैँ जे जति सिक्दै छु त्यसलाई निरन्तरता दिन चाहन्छु । पढाइलाई पनि निरन्तरता दिनेछु । सिनियर दाइहरुबाट अझ धेरै सिक्न चाहन्छु ।
