खोटाङमा पनि जिप पल्टियो, ६ को मृत्यु, ९ घाईते

Share:

खोटाङ, मंसिर ५
खोटाङमा भएको जिप दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । बाला चतुर्दशी मेला लागिरहेको हलेसीबाट शुक्रबार बिहान यात्रु लिएर जयरामतर्फ जाँदै गरेको मे १ ज ७३२ नम्बरको जिप बडहरेको गौरी भीरमा दुर्घटना हुँदा चार महिला र दुई पुरुषको ज्यान गएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा घाईते भएका ९ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।
यात्रुवाहक जीप बिहान पाँच बजेतिर दुर्छिम र बडहरेको सिमामा पर्ने गौरीभीरको साँधुरो सडकबाट झण्डै सातसय मिटर तल खसेको अनुमान गरिएको घट्नास्थलबाट स्थानीय रसकुमार राईले जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
यसअघि बिहीबार जाजरकोट खलंगाबाट खचाखच यात्रु बोकेर सुर्खेतको राकमका लागि छुटेको बस पनि दुर्घटनामा परेको थियो । ना २ ख १४ ०८ नम्बरको बस जाजरकोटको भूरबाट भेरी नदीमा खसेर बेपत्ता हुँदा त्यसमा रहेका ४० जना भन्दा बढी यात्रुको अवस्था थाहा हुन सकेको छैन । बसमा रहेकामध्ये तीनजनाको शव भेटिएको छ भने ११ जना घाइतेको सुर्खेत र नेपालगंजमा उपचार भैरहेको छ । दुर्घटनास्थलमा अहिले पनि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: