नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज

Share:

काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माले बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री बनेका छन् ।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, माेती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति र रामेश्वर राय यादव श्रममन्त्री भएका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री बनेका छन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पार्वत गुरुङले पाएका छन् । उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: