
काठमाडौं, ६ मंसीर / ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजको ट्वाइलेटको भ्वाङबाट खसेर एक हजुरआमाको ज्यान गएको छ । भ्वाङ पारिएको ट्वाइलेटबारे अस्पतालले खतरासम्बन्धी कुनै सूचना विरामीलार्इ नदिँदा ती हजुरआमाले भ्वाङबाट खस्दा घटनास्थलमै ज्यान गुमाएकी हुन् । भ्वाङ पारेको ट्वाइलेटबारे अस्पताल प्रशासनले बिरामीलार्इ जानकारी नगराउँदा हजुरआमाले ज्यान गुमाएकी हुन् । अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखाको मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि भत्काएको शौचालय भ्वाङबाट झरेर ज्यान गएको हो ।
दम बढ्ने र खुट्टा सुन्निने समस्याको उपचारका लागि शुक्रबारमात्र अस्पतालको मेडिकल वार्डमा भर्ना गरिएकी उनको ज्यान गएपछि अस्पतालले घटना ढाकछोप गरेको आरोप पीडित पक्षले लगाएको छ । मर्मतका लागि भ्वाङ खोलिएको ट्वाइलेटको ढोकामा ताला लगाइएको थिएन । ट्वाइलेटको ढोकामा खतराको कुनै सूचना पनि टाँसिएको छैन
‘अस्पताल प्रशासनको लापरबाहीले हजुरआमाको ज्यान गयो’नाति तीर्थ खत्रीले भने, ‘अस्पताल प्रशासनले कम्जोरी नस्वीकारी प्रहरी लगाएर शव उठाउन दबाब दिइरहेको छ ।’ वृद्दाको तलाबाट खसेर ज्यान गएपछि उनका आफन्तले अस्पतालको चरम लापरबाही भएको आरोप लगाएका छन् । शौचालय गएकी वृद्दा नफर्केपछि उनका आफन्तले खोजी गर्दा उनी तल्लो तलामा खसेको अवस्थामा मृत भेटिएकी थिइन् ।
अस्पतालले प्रशासनले मृतकका आफन्तलाई घटनाबारे समेत जानकारी नगराएको पीडित पक्षको आरोप छ । ‘विहान ६ बजे नै हजुरआमा शौचालय जानु भएको रहेछ’, खत्रीले भने, ‘२ घण्टासम्म खोजी गर्दा पनि उहाँ भेटिनु भएन । अस्पतालका कर्मचारीले उहाँको ज्यान गएको थाहा पाएर पनि कुरा लुकाए ।’
अस्पतालका निर्देशक ऋषिकेश नारायण श्रेष्ठले घटना दुःखद भएको बताउँदै ट लापबाही भएको स्वीकारे । उनले घटनाको छानविन गरी दोषीमाथि कारबाही गरिने उल्लेख गरे । घटनापछि अस्पताल पुगेको प्रहरीको टोलीले पनि भौतिक संरचना खतरायुक्त हुँदा हुँदै अस्पतालले बिरामीहरुलाई जानकारी नदिई गम्भीर लापरबाही गरेको जनाएको छ ।
Source: Annapurns Post.com

