
पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्।
रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् ।
द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको नेता पौडेलले बताए। वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको उनको भनाइ थियो ।
भारतले सार्वजनिक गरेको नक्सा सच्चाउनेप्रति सरकारले चासो नदेखाएको उनको आरोप छ। ‘भारतले सार्वजनिक गरेको नक्साबारे कुटनीतिक रुपबाट समाधान गर्नुपनेमा सरकार बाहिर–बाहिर बोलेर हिँड्यो,’ पौडेलले भने, ‘जुन कुटनीतिक रुपमा टेबुल गर्नु पर्ने हो, सरकारसँग त्यो क्षमता छैन।’
