
काठमाडौं– नेपालमा २४ दशमलव ५ प्रतिशत नेपालालीमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको र उनीहरुले रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेको पाइएको छ ।
परिषद्ले हालै सार्वजनिक गरेको अनुसन्धानको तथ्यांकका अनुसार उच्च रक्तचापको समस्या भएर औषधि खाइरहेकामा महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । २९ दशमलव ८ प्रतिशत पुरुष र १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेका छन् ।
उच्च रक्तचापको समस्यामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । गण्डकी प्रदेशमा २९ दशमलव ९ प्रतिशतमा उच्च रक्तचापका बिरामीहरु छन् । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ प्रतिशतमा उच्च रक्तचापको समस्या छ ।
प्रदेश ५ मा २८ दशमलव २ प्रतिशत, प्रदेश ३ मा २५ दशमलव २ प्रतिशत, प्रदेश १ मा २६ दशमलव ६ प्रतिशत, कर्णाली प्रदेशमा २१ दशमलव ४ प्रतिशत, प्रदेश २ मा १८ दशमलव ७ प्रतिशत मानिसमा उच्च रक्तचापको समस्या छ।
परिषद्ले यो अध्ययन फेब्रुअरी देखि मे सम्ममा गरेको हो । परिषद्ले नसर्ने रोगको जोखिम तत्वको रुपमा चिनिने उच्च रक्तचापको तथ्यांक निकाल्न ७ वटै प्रदेशका ५ हजार ५ सय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो ।
परिषद्ले सर्वेक्षणमा सहभागि भएकाहरुको उच्च रक्तचापको अवस्था पत्ता लगाउन उचाइ, तौल र रक्तचापको मापन गरेको थियो ।
