
पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसका केही नेताहरुमा अझै पनि हैकमवादी प्रवृत्ति रहेको जनाएका छन् । उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए।
उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए। यस्तै प्रचण्डले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको पनि बताए ।
‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’ प्रचण्डले देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजेको बताए।
नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उनले भने, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ।’
नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे।
नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उनलाई विजयी बनाउन आग्रह समेत गरे।
उनले नेकपाका उम्मेदवार भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीको पत्नी मात्र नभई प्राज्ञिक र नेपाली राजनीतिकको अध्येता भएका समेत बताए ।
