
पोखरा । उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु भएको छ । अब चुनाव नसकिदासम्म चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन् । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
आचारसंहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि एक लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको छ । मंसिर १४ गते ३७ जिल्लाका ५२ रिक्त पदको लागि उपनिर्वाचन हुँदैछ।
मतदानको लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।
उपनिर्वाचनमा ३७ जिल्लाका २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० महिला र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन्।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू यस्ता छन् :
-निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने
-मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
-एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।
