
काठमाडौ, ८ मंसिर : हङकङविरूद्धको एक मात्र टि-२० खेलमा नेपाल पराजित भएको छ । श्रीलंकामा भएको सनसनीपूर्ण खेलमा नेपाल २ विकेटले पराजित भएको हो । अत्यन्त रोमाञ्चक खेलमा हङकङले मात्र १ बल बाँकी रहँदा जित हात पारेको हो । ७३ रनको झीनो लक्ष्य लिएर मैदान छिरेको हङकङलाई जितका लागि अन्तिम ओभरसम्म कुर्नु परेको थियो । हङकङका लागि अजिज खानले अविजित २१ रन जोडेका थिए भने अनास खानले २१ रन जोडेको थिए । नेपालका लागि शक्ति गौचन र सागर पुनले समान २-२ विकेट लिएका थिए भने सोमपाल कामी, अमृत भट्टराई र पारस खड्काले समान १-१ विकेट लिएका थिए ।
२० ओभरमा मात्र रन बनाउँदा नेपालका तिव्र गतिका बलर सोमपाल कामीले दोहोरो अंक जोडेर सर्वाधिक ४० रन जोडे । उनले उक्त योगफल तयार गर्नका लागि मात्र ३१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । टोलीको अवस्था नाजुक भएको अवस्थामा सोमपालले १८ औ ओभरमा ३ चौका र १९ औ ओभरमा आउट हुनुअघि २ छक्का प्रहार गर्दै दुई ओभरमा २५ रन जोडे । उनले केहीहदसम्म टोलीलाई उकासेपनि नेपालका भरपर्दा भनिएका एक पनि ब्याटस्म्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सोमपालपछि सर्वाधिक रन बनाउने खेलाडी बने, ज्ञानेन्द्र मल्ल, नरेश बुढाएर र शक्ति गौचन । उनीहरूले समान ५-५ रन जोडेका थिए ।
सोमपालको विश्व कीर्तिमान
नेपाल र हङकङ दुबैसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता रहेकाले यी दुई टोलीबीच भएको खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो। नेपालले आईसीसीबाट मान्यताप्राप्त टीट्वेन्टी शृंखला खेलेको यो पहिलोपटक हो। खेलमा नेपाल अन्तिम ओभरमा दुई विकेटले पराजित भए पनि नेपाली खेलाडी सोमपाल कामीले कमाल गरे। उनले अन्तर्राष्ट्रिय क्रिकेटमै गजबको कीर्तिमान बनाए। खासगरी आफ्नो धारिलो बलिङले विपक्षी ब्याट्सम्यानलाई थर्कमान बनाउन माहिर सोमपालले सोमबार भने ब्याटिङमै कीर्तिमान बनाएका हुन्।
नेपाली क्रिकेटका उदियमान प्रतिभा सोमपालले हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यो कीर्तिमान हो। उनले अफगानिस्तानका हामिद हसनको कीर्तिमानलाई पछि पारेका हुन्। हामिदले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै अविजित २२ रन बनाएका थिए। क्रिजमा ओर्लिएदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका १८ वर्षीय सोमपालले ४० रन बनाउने क्रममा केवल ३१ बलको सामना गरी दुई छक्का र ६ वटा चौका पनि प्रहार गरे। उनको स्ट्राइक रेट १२९.०३ रह्यो। उनले खेलमा एक विकेट पनि लिएका थिए। भारतबाट क्रिकेट जीवन सुरु गरेका सोमपाल नेपाली टोलीका प्रतिभाशाली तिब्रगतिका बलर हुन्।
केवल २५ रनकै कुल स्कोरमा आठ विकेट गुमाइसकेको नेपाली टोलीको स्कोरलाई सोमपालले नै ७२ रनसम्म पु:याएका थिए। सोमपाल बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन्। सोमपालले श्रीलंकाको स्थानिय टोलीसँग भएको दुईवटा तीन दिने खेलमा पनि अलराउन्ड प्रदर्शन गरेका थिए। उनले दुई खेलमा गरेर १८ विकेट र ६६ रन बनाएका थिए। दुबै खेलमा उनी म्यान अफ दि म्याच पनि घोषित भएका थिए।

