प्रमाणका आधारमा भारतसँग टेबुलमा बस्न सक्छौँ : मन्त्री बाँस्कोटा

Share:

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग वार्ता गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका हुन् ।

‘सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ ।’

सञ्चारमन्त्री बाँस्कोटाले नेपाललाई अर्काको एक इन्चपनि भूमि नचाहिने भन्दै आफ्नो भूमि फिर्ता गराएर छाड्ने प्रतिवद्धता जनाए ।

उनले कालापानी र लिपुलेक नेपालकै भएको र प्रमाणका आधारमा लिम्पियाधुरासमेत दाबी गरेको उल्लेख गरे । तथ्य र प्रमाणले स्थापित भएको कुरा भारतले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

निर्णय सार्वजनिक गर्ने क्रममा उनले विश्वका ठूला देशको नेपालमा ध्यानाकर्षण गर्न सरकारले पहल गरिरहेको बताए ।

यस्तै सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको प्रवक्ता बास्कोटाले जानकारी दिए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए ।

यसअघि सरकारले ल्याएको गुठी विधेयकको चर्को आलोचना भएको थियो । विधेयकको विरोधमा आन्दोलन नै चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: