
काठमाडौं । प्रधानमन्त्री केपी ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि बिहिबार प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले बताएका छन् ।
’सबै ठीकठाक छ, इम्प्रुभ भइरहेको छ खाना खान शुरू गर्नुभएको छ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग डाक्टर सायमीले भने, ‘हिँड्न शुरू गर्नुभएको छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ ।’
डाक्टर सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेपनि आईसीयूमै राखेर आगन्तुकलाई भेट्न नदिइएको बताए । प्रधानमन्त्री ओलीको उपचारको भावी रणनीति तय गर्न बिहीवार नै चिकित्सक र विशेषज्ञहरूको छलफल पनि भएको थियो ।
नियमित डायलासिसको प्रक्रियामा रहेका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापश्चात दुईपटक डायलासिस गरिसकिएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो ।
त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य र उपनिर्वाचनले नेकपा बैठक अनिश्चित
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी ओलीको स्वास्थ्यका कारण नेकपाको सचिवालय बैठक पर धकेलिएको छ ।
चिकित्सकहरुको सुझावअनुसार ओली अझै केही दिन असपताल बस्नुपर्ने भएपछि सचिवालय बैठक पछि धकेलिएको हो । दुई अध्यक्षको कार्य्विभाजनपछि पहिला सचिवालय बैठक बोलाउने र त्यसपछि स्थायी कमिटि बैठक बोलाउने नेकपाको शीर्ष नेताहरुको योजना थियो ।
अध्यक्ष प्रचण्ड र ओलीले उपननिर्वाचनको मौन अवधिको समयमा सचिवालय बैठक बोलाउने र त्यसवेला पार्टी एकताका बाँकी काम टुङग्याउने तयारी गरेका थिए । तर अचानक ओली अस्वस्थ भएर मंगलबार अस्पताल भर्ना भएपछि उनीहरुको योजना र कार्यतालिका थप प्रभावित बन्न पुग्दा नेकपाको बैठक अनिश्चित बन्न पुगेको हो ।
