
पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिकाले वडाध्यक्ष सहितका जनप्रतिनिधि तथा स्थानीयलाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ । स्थानीय तहमा न्यायिक समिति गठन गरी स्थानीयस्तरका विवाद मेलमिलापका माध्यमबाट समाधान गर्ने सकिने संवैधानिक व्यवस्थालाई कार्यान्वयनका लागि गाउँपालिकाको न्यायिक समितिको आयोजनामा यही मंसिर ५ देखी १२ गतेसम्म वडा नं २ र ७ बाहेकका ७ वटा वडाका वडाध्यक्ष सहित ४ जनाका दरले सहभागिहरुलाई तालिम दिइएको हो ।
गाउँघरमा उत्पन्न हुने विवादलाई कसरी समाधान गरी मेलमिलाप कायम गर्न सकिन्छ भन्ने बारेमा तालिम प्रदान गरिएको न्यायिक समिति संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले जानकारी दिइन् । दुई वडामा भने यसअघिनै तािलम आयोजना गरिएको थियो ।
सहभागिहरुलाई जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश काजीबहादुर राई,न्यायाधीश दण्डपाणी शर्मा,विष्णुप्रसाद उपाध्याय र श्रेष्तेद्धार लोकनाथ पराजुली तथा प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डित र हरि रेग्मीले न्यायमा बाह्य पहुँच तथा मेलमिलापकर्ताको भूमिका लगायतमा प्रशिक्षण दिएका थिए ।
तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले सबै पक्ष मिलेर सकभर समाजमा विवाद आउन नदिई मेलमिलाप र असल सम्वन्धको विकास गर्नुपर्नेमा जोड दिँदै कथम्कदाचित विवाद सृजना.भएको खण्डमा मेलमिलापबाट समाधान खोज्नु बुद्धिमता हुने उल्लेख गरे ।
विवाद बढ्दै गएर अदालतको ढोका सम्म पुग्नु भनेको मानिसको समय र पैसा दुबैको क्षति भएको उल्लेख गर्दै अध्यक्ष गुरुङ तालिम लिएपछि मेलमिलापकर्ताले विवादलाई अदालतसम्म पुग्न नदिई स्थानीयस्तरमानै हल गर्न सक्षम हुनेछन् भन्ने विश्वास व्यक्त गरे ।
उपप्रमुख दवाडीले तालिम लिएकाहरुलाई गाउँपालिकामा मेलमिलापकर्ताको रुपमा सूचीकृत गरी प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरिने जानकारी दिईन् । तालिममा सहभागि रुद्र रानाभाट र मीना काफ्ले तथा वडाध्क्षको तर्फबाट पूर्णबहादुर शाहीले ससाना विवादलाई वडामानै मिलाउन सक्षम भएको बताउँदै तालिम प्रभावकारी भएको भनाई राखे ।
