
पोखरा । पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको छ । मुक्तिनाथबाट काठमाडौँ जाँदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर प्राडो गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते हुने सबै संघीय राजधानी काठमाडौँका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
गम्भीर घाइते हुनेमा काठमाडौँ गोठाटारका २४ वर्षीया उत्सव थापा छन् । उनको पोखरा सृजना चोक स्थित मेट्रो सिटी हस्पिटलको आइसियूमा उपचार भइरहेको छ । उनको टाउको र घाँटीमा चोट लागेको उपचारमा संलग्न डा. अविनाश बस्नेतले बिगखबरलाई जानकारी दिए ।
अन्य घाइतेमा गाडी चालक काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरका ३१ वर्षीया राजीव बजगाईं, २७ वर्षीया श्रीमती प्रियंका बजगाईं र उनीहरुका ६ वर्षीया छोरा रागव बजगाईं छन् ।
यस्तै ३१ वर्षीया सर्मित दाहाल, २६ वर्षीया श्रीमती अर्पणा दाहाल, उनीहरुकी दुई वर्षीया छोरी प्रनिका दाहाल र काठमाडौँ गोठाटारका टिकादत्त पौडेल पनि घाइते भएका छन् । डा. बस्नेतका अनुसार २४ वर्षीया थापाबाहेक सबै खतरामुक्त छन् ।
तीव्र गतिमा रहेको सो गाडी शुक्रबार विहान साढे ९ बजे दुर्घटनामा परेको थियो । उक्त गाडी सडकबाट झण्डै ५० मिटर पर उछिट्टिएको प्रहरीले जनाएको छ ।
यो पनि : मुक्तिनाथबाट आएको गाडी तल्लो गगनगौंडामा दुर्घटना, ८ जना गम्भीर घाइते
