आज मध्यरातबाट कास्कीमा सवारी सञ्चालनमा रोक !

Share:

पोखरा । आज मध्यरातबाट कास्कीमा अति आवश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन प्रवेश र सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राती १२ बजेदेखि सुरु हुने बन्देज निर्वाचन नसकिदासम्म रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।

यस्तै चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । कास्की जिल्ला आवतजावत गर्ने सवारीलाई तीन वटा प्रवेश बिन्दुमा रोकेर राखिने सूचनामार्फत जनाएको छ ।

सो सूचनामा उल्लेख भएअनुसार पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा-२२ को कालीमाटी खोलामा रोकेर राखिने छ ।

प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन/तीन घण्टाको अन्तरालमा स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् ।

यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी यहाँ उपनिर्वाचन हुँदैछ । शनिबार हुने मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।

८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी उपनिर्वाचनक लागि मतदान स्थलमा खटिएका छन् । यस्तै ३२८ जना स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बिगखबरलाई बताए ।

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको छ ।

कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.विमा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र हुने छन् ।

सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।

कमेन्ट गर्नुहोस्
Share: