स्वर्ण जित्ने रुबिनाको अठोट, डेब्यू गर्न आत्तिएकी सुमन

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी आइतबारदेखि सुरु हुँदैछ । यस संस्करणको सागमा विभिन्न २६ खेलमा प्रतिष्पर्धा हुँदैछ । सागका लागि सात राष्ट्रका खेलाडी नेपाल आइसकेका छन् । सागअन्तर्गतका खेल काठमाडौँ, पोखरा र जनकपुरमा हुनेछन्।

नेपालले सबै २६ खेलमा सहभागिता जनाउँदै छ । नेपालले स्वर्ण जित्न सक्ने विधामध्ये महिला क्रिकेट पनि एक हो । सागका लागि नेपाली महिला क्रिकेट टोलीले गत ३ महिना देखि तयारी गरिरहेको छ । यसपटकको सागमा महिला क्रिकेट पोखरामा हुँदैछ ।

त्यसैले नेपाली महिला क्रिकेट टोलीले अहिले पोखरामा अभ्यास गरिरहेको छ । महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले अहिले आफूहरुले स्वर्ण पदकबाहेक अरु केहि पनि नसोचेको बताउँछिन् ।

बिगखबरसँगको भेटमा उनले सागका लागि निकै राम्रो तयारी गरिरहेको सुनाइन् । उनले तीन महिना क्याम्पिङको सुविधा दिएकामा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई धन्यवाद समेत प्रकट गरिन् । आफुहरुले सबै किसिमका सुविधा पाएको कप्तान क्षेत्री बताउँछिन् ।

टिमको मजबुत पक्ष

नेपाली क्रिकेटमा ब्याटिङ सधैँ समस्याका रुपमा रहेको छ । पुरुष क्रिकेटमा होस् वा महिला क्रिकेटमा होस् ब्याटिङ कमजोर हुँदा नेपाली क्रिकेटले हासिल गर्नुपर्ने गन्तव्य हासिल गर्न सकेको छैन । तर, अहिले महिला क्रिकेट टोलीमा ब्याटिङमा समस्या नदेखिने कप्तान क्षेत्रीको दाबी छ ।

‘पहिले पहिले बलिङ, फिल्डिङ हाम्रो मजबुत पक्ष हुने गर्थ्यो। अहिले ब्याटिङ पनि मजबुत छ’ कप्तान क्षेत्रीले भनिन्, ‘हामीले अहिले ब्याटिङ सुधारेका छौँ, अब हामी सबै पक्षले मजबुत छौँ ।’

नेपाली टोलीमा अहिले आएका जुनियर खेलाडीले सिनियर खेलाडीलाई अझ राम्रो खेल्नु पर्छ भन्ने प्रोत्साहन दिएको रुबिना बताउँछिन् । जुनियर खेलाडीले फिल्डिङमा मजबुति ल्याउने रुबिनाको विश्वास छ । जुनियर भएपनि उनीहरु दक्ष नै भएर टिममा परेको बताउँदै जुनियर र सिनियरको मिश्रणले टिम मजबुत बनेको उनले सुनाइन् ।

ढिला सुरु भएको पोखराको प्रशिक्षण

नेपाली राष्ट्रिय महिला टोली प्रशिक्षणका लागि भारत जान चाहेको थियो । तर, भारतमा रञ्जी ट्रफी चलिरहेको र त्यहाँ गएर कमजोर टोलीसँग खेल्न भन्दा काठमाडौँमै मजबुत प्रशिक्षण नेपाली टोलीले पाएको छ । नेपाली टोलीले पोखरामा अलिक पहिले आएर प्रशिक्षण गर्न चाहन्थ्यो ।

पोखराको पिच राम्ररी तयार नभएकाले उनीहरु ढिला गरि पोखरा आए । पोखरामा तयारी गरिरहेकी रुबिनाले आफुलाई पोखराको पिच निकै राम्रो लागेको सुनाइन् ।

‘भारत पाकिस्तान नआउँदा दु:ख लाग्यो’

सागमा क्रिकेटमा क्रिकेटका हस्ती भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका छन् । यसले आफु र आफ्नो टिम निकै दुखि बनेको रुबिना बताउँछिन् ।

रुबिनाको विचारमा यसले नेपाली महिला क्रिकेटले आफु बलियोपन देखाउनबाट बञ्चित भएको छ । भारत र पाकिस्तान नखेली स्वर्ण जित्नुको कुनै अर्थ नहुने उनको ठहर छ ।

‘स्वर्ण जित्नेमा विश्वस्त छौं’

अहिले महिला क्रिकेटमा भारत र पाकिस्तान नआउने भएपछि नेपाल पनि स्वर्णको प्रमुख दाबेदार मानिएको छ । नेपाली महिला क्रिकेट टोलीले पनि निकै त्याग र दुख गरिरहेकोले स्वर्ण जित्नेमा आफू ढुक्क रहेको कप्तान रुबिनाले बताइन् ।

यस्तै हालै सम्पन्न वुमन्स च्याम्पियन्स लिग डब्लुसियलले टिममा आत्मबल जुटाएकोले जुनसुकै हालमा स्वर्ण जित्ने रुबिना बताउँछिन् ।

आजसम्म नेपाली महिला क्रिकेट टोलीले घरेलु भूमिमा अन्तराष्ट्रिय खेल खेल्न पाएको थिएन । कप्तान रुबिनाका लागि पनि घरेलु भूमिमा खेल्नु नयाँ अनुभव हुनेछ ।

‘क्रिकेटको १० वर्षे करियरमा म स्वयंले पनि घरेलु भूमिमा खेल्न पाएको छैन, खेल्न नपाएको दुखलाई अब हामी सुखमा परिणत गछौँ,’ रुबिनाले भनिन्, ‘घरमा खेल्नुले हामीमा निकै उर्जा थप्ने छ ।’

पोख्रेली क्रिकेट प्रेमीलाई रुबिनाको सन्देश

घरमा बसेर अपडेट हेर्नु भन्दा मैदानमा गएर समर्थन गरिदिन रुबिनाले पोख्रेली समर्थकलाई आग्रह गर्छिन् । उनले निकै उत्कृष्ट प्रदर्शन गर्ने वाचा गरिन् ।

उनले समर्थकको उपस्थितिले आफुहरुलाई हौसला मिल्ने र निकै राम्रो क्रिकेट खेल्ने बताइन् ।

डेब्यू गर्न आत्तिएकी सुमन खतिवडा

हालै सम्पन्न डब्लुसियलले नेपाली क्रिकेट प्रेमी माझ चिनाएको नाम हो– सुमन खतिवडा । सुमनले क्रिकेट खेल्न थालेको ५ वर्ष पुग्यो । डब्लुसियलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएपछि साग खेल्ने राष्ट्रिय महिला टोलीमा उनी पनि अटाइन् । डेब्यू गर्न उनी निकै आत्तुर छिन् ।

उनले सबै खेलाडी खेल्न सुरु गर्ने बेलामा राष्ट्रिय टिममा पर्छु भन्ने मनोभावनाले खेल्न थाल्ने बताइन् । आफुले पनि राष्ट्रिय टिममा पर्छु भन्ने अठोट लिएर खेल्न थालेको भन्दै पहिलो पटक टिममा पर्दा निकै खुसी लागेको सुनाइन् ।

सागका लागि पोखरामा तयारी गर्न पाउँदा निकै सकारात्मक सोच आइरहेको सुमन सुनाउँछिन् । उनी भन्छिन्, ‘म जुन खेल कौशलले राष्ट्रिय टोलीमा अटाएकी थिएँ, त्यो भन्दा उत्कृष्ट खेल खेल्छु।’

उनी घरेलु भुमिमा आफुले डेब्यू गर्न पाएकोमा निकै भाग्यमानी ठान्छिन् । ‘डेब्यू गर्न निकै आत्तुर छु, घरेलु भूमिमा खेल्न पाएँ, खुसि छु,’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्
Share: