सार्क राष्ट्रका प्रमुखहरु आज आउदै, को कति बजे काठमाडौं आउँदैछन् ?

Share:

काठमाण्डौ ९ मंसिर ।  १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन ७ वटा सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरु मंगलबार अपरान्हसम्म आइपुग्ने भएका छन् । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन भएर दुई दिनसम्म चल्ने सार्क शिखर सम्मेलनमा सहभागी हुन उनीहरुमध्ये केही विशेष विमानबाट र केही नियमित उडानको विमानबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रनेछन् ।

सार्कमा सहभागी हुन आउने क्रममा सबैभन्दा बढी सुरक्षा व्यवस्था सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदैछन् । सार्क सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं ओर्लने राष्ट्र तथा सरकार प्रमुखहरुको समय तालिका यस्तो छ ।schedule

श्रीलंकन राष्ट्रपति महिन्दा राजापाक्ष

सार्क सम्मेलनमा सहभागी हुन सबैभन्दा पहिले मंगलबार बिहान श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष काठमाडौं ओर्लदैछन् । उनी श्रीलंकाबाट विशेष विमानमा चढेर काठमाडौं ओर्लदैँछन् । बौद्द धर्मावलम्बी समेत रहेका राजापाक्ष बौद्धको जन्मस्थल लुम्बिनी भ्रमण भ्याउने गरी बिहानै काठमाडौं ओर्लन लागेका हुन् ।

काठमाडौं ओर्लनेबित्तिकै उनी त्रिभुवन विमानस्थलको विशेष कक्षबाटै नेपाली सेनाको सुपर पुमा हेलिकोप्टरबाट सिधै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीमा दर्शन गरेपछि मंगलबारै उनी काठमाडौं फर्कने छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष काठमाडौं ओर्लेको करिब एक घण्टापछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी काठमाडौं ओर्लदैँछन् । उनी अफगानिस्तानबाट विशेष विमान चढेर बिहान १० बजेर ४५ मिनेटमा काठमाडौं ओर्लने कार्यक्रम छ । उनी काठमाडौं बाहिरको भ्रमणमा जाने कार्यक्रम छैन ।

भुटानी प्रधानमन्त्री थेस्रिङ तोब्गे

भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे मंगलबार बिहान ११ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने छन् । उनी ड्रुक एयरको विमानबाट काठमाडौं आउने कार्यक्रम छ । उनको पनि काठमाडौं बाहिरको भ्रमण कार्यक्रम तय भएको छैन ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन

सार्क राष्ट्रकै सानो सदस्य राष्ट्र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन काठमाडौं उत्रने तेस्रो राष्ट्र प्रमुख हुनेछन् । उनी सिल्क एयरको नियमित उडानबाट काठमाडौं आउनेछन् । मध्यान्ह १२ बजेर ५ मिनेटमा उनी काठमाडौं ओर्लने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

सार्क शिखर सम्मेलनकै प्रमुख आर्कषण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो साढे दुई बजे काठमाडौं ओर्लने कार्यक्रम छ । कडा सुरक्षाबीच उनी काठमाडौं आउँदैछन् ।

मोदी काठमाडौं आउँदा उनीसँगै ४ वटा विशेष विमान त्रिभुवन विमानस्थलमा आउनेछन् । मोदी काठमाडौं आउने क्रममा उनी काठमाडौंमा रहँदा चढ्ने विशेष कारसहितको एउटा जहाज उनको सुरक्षा दस्तासहित काठमाडौं ओर्लने छ ।

सुरक्षादस्ता सहितको कार त्रिभुवन विमानस्थलमा ओर्लेपछि मात्रै मोदी आउने छन् । उनी काठमाडौं आउँदा उनलाई अन्य २ वटा विशेष विमानले स्कर्टिङ गर्नेछन् । सुरक्षादस्तासहितको विशेष विमानको सुरक्षासहित मोदी मंगलबार दिउँसो काठमाडौं आइपुग्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओर्लेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ आउने कार्यक्रम छ । उनी पाकिस्तानी एयरलाइन्सको विशेष विमानमा चढेर दिउँसो साढे तीन बजे काठमाडौं आउँदैछन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफ चढ्ने विशेष कार पनि त्यहीँबाट सोमबारै ल्याइसकिएको छ । उनको कार पाकिस्तानी सेनाको १३० जहाजले सोमबारै काठमाडौं ल्याइसकेको छ । उनी पनि सुरक्षादस्तासहित काठमाडौं ओर्लने कार्यक्रम छ ।

बंगालदेशी प्रधानमन्त्री शेख हसिना

सार्क शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुककी अन्तिम प्रमुख बंगलादेशकी प्रधानमन्त्री शेख हसिना हुने छिन् । उनी बंगलादेश विमानमा चढेर मंगलबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आउनेछिन् ।

पाहुनको स्वागत उपप्रधानमन्त्रीबाट

त्रिभुवन विमानस्थलमा ओर्लेपछि छिमेकी राष्ट्र तथा सरकार प्रमुहरुको दुई उप प्रधानमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्रिभुवन विमानस्थलमा उनीहरुको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्वागत गर्नेछन् ।  त्यसैगरी सार्कका अतिथिहरुलाई राखिने सोल्टी होटलमा उर्जा मन्त्री राधा ज्ञवालीले अतिथिहरुको स्वागत गर्ने कार्यक्रम छ । स्रोत : अन्नपूर्णपोष्ट

कमेन्ट गर्नुहोस्
Share: