कास्की-२ को मतगणना जारी, नेकपा ११ सय ६८ मतले अगाडि

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ११ सय ६१ मतले अगाडि देखिएको छ । पोखरा ३३ को मतगणना सम्पन्न हुँदा नेकपा नेपाली काङ्ग्रेस भन्दा ११ सय ६१ मतले अगाडि देखिएको हो ।

पछिल्लो जानकारी अन्सार नेकपा उम्मेदवार विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छन् । यस्तौ नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले २१ सय १५ मत प्राप्त गरेका छन् । समाजवादीले ९५, राप्रपाले ४७, साझाले ३५, नेपाली काङ्ग्रेस बिपिले ७ मत प्राप्त गरेको छ ।

वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो ।यसमध्ये ५१ मत बदर भएको छ । त्यहाँ ७ हजार ९ सय ९१ कुल मतदाता थिए । अब ६ बजेबाट वडा नम्बर २१ को मत गणना सुरु हुनेछ ।

मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा जारी छ। शनिबार राती साढे १० बजे नै सुरु गरिने भनिएको मतगणना आइतबार बिहान १:४० बजे सुरु भएको थियो । मतदान केन्द्रबाट उठाइको मुचुल्का जानकारी नगराइए पछि पहिलो विवाद सुरु भएको थियो ।

समाजवादी पार्टीका उम्मेदवार प्रतिनिधि टिकाराम पौडेलले वडा नम्बर ३३ का सबै मतपेटिकामा खसेको मत जानकारी गराउन माग गरेका थिए । सम्बन्धित पक्षले तपाईं आफैं जोड्नुस भनेपछि विवाद चर्कियो । त्यो विषय समाधान भएपछि मत पेटिकाको शिल नम्बर जानकारी गराउन उम्मेदवारका प्रतिनिधिले माग गरेका थिए । निर्वाचन अधिकृतले आफ्नै प्रतिनिधिसंग सिल नम्बर माग्न भनेको थियो । सिल नम्बरको प्रतिलिपी नदिएपछि फेरि विवाद सुरु भयो ।

नयाँ निर्वाचन निर्देशिकामा सिल नभए पनि केहि फरक नपर्ने उल्लेख छ । पछि मुचुल्काको क्रममा रहेको सिल नम्बर रुजु गराउने सहमति भएपछि विवाद साम्य भएको हो । कास्की २ मा कूल ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो ।

पुरुष २० हजार ७ सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसालेका छन् । कास्की दुईमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

२०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । पहिले ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो । कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ । उनकै उत्तराधिकारी चयनका लागि शनिबार मतदान भएको हो ।

गएको निर्वाचनको मत

२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: