माटोको ढिस्कोले पुरिएका पाँचैजनाको मृत्यु, मजदुरको निधनप्रति महानगरद्वारा दुख व्यक्त

Share:

पोखरा ।  पोखरा–२० मौजा बिसौनास्थित सडक स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले परिएका पाँचैजनाको मृत्यु भएको छ। पाँचैजनाको शव निकालिएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि ‘रिटेनिङ वाल’ लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको हो । ढिस्को खस्दाखस्दै दुईजना भाग्न सफल भएका थिए । पुरिएका पाँचजनालाई जीवितै उद्धार गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।

मृत भेदिएका पाँचैजना सल्यानको जिल्फाबाट कामका लागि उनीहरु त्यहाँ आएका थिए । ढिस्कोले पुरिएर ज्यान गुमाउनेमा खिमलाल वली, गणेश वली, जित बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र तोभान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

मजदुरको निधनप्रति महानगरद्वारा दुख व्यक्त

पोखरा २० मा निर्माणाधीन भलाम—मौजा जोड्ने कनेक्टिङ सडक खण्डको विसौनामा रिटेनिङवाल लगाउने क्रममा मंसिर १५ गते अकस्मात खसेको माटोको ढिस्कोले पुरिएर ५ मजदुरको निधन भएको घटनाप्रति पोखरा महानगरपालिका दुख व्यक्त गरेको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार शोक विज्ञप्ति जारी गर्दै मनिपाल—¥यालेचौर—मौजा—विसौनाहुँदै सिक्लेस र मनाङ पुग्ने सडक खण्डमा कार्यरत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोला घर भएका तोबान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुडाथोकीको दुखद् निधन भएको जनाएका छन् ।

घटना लगत्तै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घटनास्थलको निरीक्षण गरेर मृतकहरुप्रति श्रद्धा प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उक्त मानवीय क्षतिको घटनाले पोखरा महानगरपालिका परिवारलाई दुखी बनाएको र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,‘निर्माणमा सम्लग्न पक्षले आगामी दिनमा निर्माण कार्यमा जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने सतर्कता तथा विपद् व्यवस्थापन गर्न महानगरपालिका ध्यानाकर्षण गराउँदछ ।’

कमेन्ट गर्नुहोस्
Share: