
रेम बिक / पोखरा, ९ मंसिर | पोखरामा अहिलेसम्मकै अत्याधुनिक रेस्टुरेन्ट संचालनमा आउने भएको छ । अंग्रेजी नयाँवर्षदेखि संचालनमा आउने रेस्टुरेन्टको अहिले धमाधम निर्माणकार्य भैरहेको छ । होटल व्यवसायी भरतराज शर्माले रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हुन् । ‘क्याफे ईटालियनो’ नाम दिएर संचालनमा आउने रेस्टुरेन्ट लेकसाईडको बसुन्धारापार्क नजिकै अम्बोटमा संचालनमा आउन लागेको हो ।
‘हामीले पोखरामा अहिलेसम्मकै अत्याधुनिक सेवा सुविधासहितको रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हौँ ।’ रेस्टुरेन्टका संचालक भरतराज शर्माले विश्वास दिलाए–‘सेवा, सुविधा र गुणस्तरको हिसाबले हाल पोखरामा संचालनमा भैरहेका अन्य रेस्टुरेन्टभन्दा हामी एक कदम अगाडि हुनेछौँ ।’ रेस्टुरेन्ट संचालनमा आईसक्दासम्म ५ करोड रुपैँया लगानी हुने उनले बताए ।
संचालकले बताएअनुसार रेस्टुरेन्टमा ग्राहकहरुले अर्डर गरेको पाँचदेखि १० मिनेटभित्रमा सेवा पाईसकेका हुनेछन् । विशेषगरि ईटालियन परिकारहरु पाक्ने भएपनि चाईनिज, कन्टिनेन्टल परिकारहरु समेत रेस्टुरेन्टमा पाईनेछ । अर्डर गर्नका लागि ग्राहकहरुलाई डिजिटल मेनुको व्यवस्था हुनेछ भने सेवा प्रवाह गर्ने सेफ देखि वेटरसम्म ‘पाँचतारे होटलमा रहने रेस्टुरेन्ट’मा काम गर्ने लेभलका हुनेछन् । संचालकका अनुसार रेस्टुरेन्टको किचन सेक्सन विशेष खालको हुनेछ । ‘पोखरामा यस्तो खालको किचन अहिलेसम्म कसैले चलाएका छैनन् ।’ संचालक शर्माले भने–‘सबै किचन सामाग्रीहरुले हामीले स्पेनबाट मगाएका हौँ ।’ सबै कुरा यूरोपियन स्ट्यान्डर्डका हुने उनले बताए ।
रुफटप, रोड शो र गार्डेनको सुविधा रहने रेस्टुरेन्टमा एकैचोटी १ सय ५० जनाले खान बस्न सक्ने क्षमता हुनेछ । रेस्टुरेन्टसंगै ‘फुल फ्लेज स्पा’ समेत सोहि ठाउँमा संचालन हुने संचालकले बताएका छन् । स्पा पनि निकै अत्याधुनिक हुने उनले दाबी गरे । रेस्टुरेन्ट र स्पालाई मर्ज गरेर ग्राहकहरुको लागि ‘हेल्थ फुड प्याकेज’ पनि दिईने संचालकले बताएका छन् । यो प्याकेज अन्तरगत आयुर्वेदेकि डाक्टरले ग्राहकहरुलाई कस्तो खाना खाने भन्ने विषयमा परामर्श समेत दिनेछन् ।
४० जनाले रोजगारीको अवसर पाउने रेस्टुरेन्टको यतिबेला करिब ८० प्रतिशत निर्माण कार्य पुरा भएको छ । खासगरि विदेशी पर्यटकहरुलाई नै लक्षित गरेर रेस्टुरेन्ट संचालनमा ल्याउन लागेको संचालकले बताएका छन् । ‘पछिल्लो समय नेपालीहरुको पनि रेस्टुरेन्टमा गएर खाने बानी बसिसकेकोले हाम्रो लक्षित ग्राहकभित्र नेपालीहरु पनि पर्नेछन् ।’ संचालक शर्माले भने–‘गुणस्तरिय सेवा सुविधा दिने भएपनि रेस्टुरेन्ट त्यति साह«ै महँगो भने छैन ।’
‘क्याफे ईटालियनो’ संचालनमा ल्याउन लागेका संचालक भरतराज शर्माले डेढ वर्षयता ‘अतिथि रिसोर्ट एण्ड स्पा’ संचालन गर्दै आएका छन् । पोखराको स्तरिय रिसोर्टहरुमध्ये एकमा पर्ने यो रिसोर्टले पछिल्लोपटक ‘ट्राभलर्स च्वाईस’ अवार्ड समेत प्राप्त गरिसकेको छ ।

