
नवराज ढुङ्गाना
पोखरा, ९ मंसिर
पोखरामा केही समयअघि स्थापित सामाजीक संस्था चहलपहल नेपालले यहि मंसिर १९ गते लाईभ कन्सर्ट गर्ने भएको छ । संस्थाले आफ्नो पहिलो गतिविधि अन्तर्गत पोखराको चिप्लेढुङ्गामा ट्राफिक जनचेतनामूलक प्रस्तुतीका साथै साँस्कृतिक कार्यक्रम गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
ट्राफिक जनचेतनामूलक गितबाट सुरु र अन्त्य हुने कन्सर्टको नाम ‘पोखरा ट्रेडमल डि मर्चा लाईभ कन्सर्ट’ दिईएको छ । निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको कन्सर्टमा डि मोर्चा ब्याण्डको मुख्य प्रस्तुती रहने कार्यक्रम संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
पोखरामा बढ्दै गएको सवारी चाप र ट्राफिक व्यवस्थापनका लागि जनचेतना जगाउनु नै कन्सर्टको मुख्य उद्देश्य रहेको उनले बताए । संस्थाले कन्सर्टपश्चात् विभिन्न विद्यालयहरुमा जेब्रा क्रसिङ्ग निर्माण अभियान समेत सञ्चालन गर्ने जनाएको छ ।
“कन्सर्टबाटै बचत भएको रकमले हामीले जेब्रा क्रस निर्माण अभियान थाल्नेछौं ।” चहलपहलसँग सहकार्य गरिरहेको डि मर्चा ब्याण्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले भने– “हामिले सुरु गरेको यो अभियानले पोखराको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केही हदसम्म भएपनि सहयोग पुग्नेछ । ”
विद्यालय नजिकैको सडकमा निर्माण गरिने जेब्रा क्रसिङ्गले विद्यार्थीलाई सानै उमेरदेखि नै यसको प्रयोगमा अभ्यस्त बनाउन सहयोग पुग्ने आयोजकको दावी छ ।
पोखरा ट्रेडमलको मुख्य प्रायोजन र चहलपहल मेलवर्नको बिशेष सहयोगमा हुने कन्सर्टको सह प्रायोजकमा न्यू बाराही अजिमा प्लाई उद्योग, अन्नपूर्ण ईन्जिनियरिङ्ग कन्सल्टेन्सी, हङ्कङ् ब्युटी ईन्ष्टिच्यूट एण्ड कलेज, बाराही ईन्टरनेट, थापा सप्लायर्स, विश्वकर्मा अटो मार्ट, के टि एम ड्युक सोरुम, तालबाराही कन्स्ट्रक्सन एण्ड इक्युप्मेन्ट प्रा लि, त्रिशा डाईमण्ड र एस के साउण्ड महेन्द्रपुल रहेका छन् ।
