
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ४ विकेट गुमाएर पुरा गर्यो ।
श्रीलंकाका अशनले सर्वाधिक अविजित ७२ रन बनाए। यस्तै मदुष्काले ४६ रन बनाए भने पाथुम निसांकाले ३० रन जोडे। असेन बन्दरा भने १० रनमा अविजित रहे।
नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ७२ रन बनेका थिए भने पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे ।
पवन सर्राफले २२ रन बनाए। श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिए। दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १–१ विकेट रह्यो।
