
पोखरा । अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष आयोजना हँदै आएको पोखरा सडक महोत्सवको आगामी संस्करण पुस १२ देखि १६ गतेसम्म हुने भएको छ ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले महोत्सवको २१ औँ संस्करण पुस १२ देखि १६ गतेसम्म हुने जानकारी दिएको होे ।
पोख्रेली पर्यटन प्रवर्धनका लागि नेपालकै ठूलो महोत्सव मध्येको सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाको दाबी छ ।
महोत्सव सम्पन्न गर्न तयारी थालिसकेको रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने छ ।
आयोजककाअनुसार यो सडक क्षेत्रमा खानेकुराका विभिन्न परिकारका स्टलहरु रहने छन् । महोत्सव अवधिभर विभिन्न छुटका प्याकेज पनि प्रदान गरिने संयोजक बरालले जानकारी दिए ।
महोत्सवमा नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, हस्तकला प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, वृतचित्र प्रदर्शनी, बालउद्यान, लाइभ कन्सर्ट, लोक दोहोरी पनि हुने उनले बताए ।
महोत्साव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर-रेबान
महोत्सवबाट ८५ लाख रुपैयाँ आम्दानी र ७० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । भ्रमण वर्ष २०२० को उद्घाटन पनि महोत्सव स्थलबाट गर्ने गरी तयारी भईरहेको रेबानका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए ।
महोत्सवको प्रचारका लागि पूर्वी नेपाल र भारतका केही भागमा प्रचारप्रसारका कार्यक्रम गरिने अध्यक्ष भुजेलले बताए । नयाँ वर्ष र भ्रमण वर्षको अवसर पारेर फेवा किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ।
सडक महोत्सवमा खानेकुराको मूल्यलाई लिएर हरेक वर्ष आलोचना हुने गरेको छ । समस्या पहल गर्नका लागि हरेक वर्ष आयोजकले पहल नगरेको भने होइन ।
यसपटक ठगी गर्नेमाथि निगरानी गर्ने र कारबाही थाल्ने रेबानका सल्लाहकार सूर्य भुजेलले बताए । महोत्सवमा ठगी हुने गरेको स्वीकार गर्दै उनले सो समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।
मध्यरातमा आतिसबाजी गरिने
यसपटक महोत्सवको आकर्षणको रुपमा रहेको आतिसबाजी गरिने भएको छ । सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि भन्दै गएको वर्ष अदालतमा मुद्दा दायर भएको थियो ।
मुद्दा बारे फैसला सुनाउँदै उच्च अदालत पोखराले सडक महोत्सवमा नयाँ बर्षमा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी गरे पछि आतिसबाजी गरिएको थिएन ।
नयाँ वर्षको सुरुवातको संकेतको रुपमा रातको ठिक १२ बजे आतिसबाजी गर्ने गरिन्छ । सुरक्षा व्यवस्था बलियो बनाएर मनोरन्जनका लागि आतिसबाजी गरिने अध्यक्ष भुजेलले बताए ।
‘गएको वर्ष अदालतको आदेशले गर्दा आतिसबाजी गरिएन,’ उनले भने, ‘यसपटक आतिसबाजी गर्न सम्बन्धित निकायसँग छलफल गरेका छौँ, मनोरन्जनसँगै सुरक्षित तवरले आतिसबाजी गर्छौं ।’
पोखरामा १३ औं सागको उद्घाटनका क्रममा गएको सोमबार करिब साढे एक घण्टा आतिसबाजी गरिएको थियो ।
File Photo

