
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहिबार सहज जित हात पारेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले ।
यस्तै पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो ।
भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।
