सार्क शिखर सम्मेलन सुरु, अन्तरदेशीय आवागमन, अपराध नियन्त्रण र विकासमा जोड

428
0
Share:

१० मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा औपचारिक रुपमा बुधबार सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रका आठ राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् । सार्क मुलुकको विकासको लागि एक हुनु सबै राष्ट्र तथा सरकार प्रमुखले जोड दिएका छन् ।  दक्षिण एशियाको विकासका लागि आ-आफ्नो ‘भिजन’ प्रस्तुत गरेका छन् ।

शिखर सम्मेलन उदघाटनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् । सार्कका पर्यवेक्षकका रुपमा रहेका चीन, जापान, म्यानमार, कोरिया, अष्ट्रेलियालगायत विभिन्न मुलुकका प्रतिनिधिले पनि सार्कको सफलताको शुभकामना दिएका छन् ।

सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालले सार्कको विकासको लागि यस क्षेत्रका मुलुकले मिलेर काम गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री कोइरालले सार्कको विकासको लागि अर्थपूर्ण एकता जरुरी भएको बताए । उनले दक्षिण एसियामा ब्यस्त रहेको गरिबि, भोकमरी, आतङ्कवाद, सीमा अपराध, हतियार तथा लागु औषद ओसारपसराको समस्याको समाधान गर्न सार्क मुलुक एक हुन पर्ने बतए ।

उनले सार्क मुलुकको आर्थिक उन्नतीको लागि दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को कार्यान्वयन गर्नुका साथै सार्कका अन्य संस्थालाई सक्रिया पार्न साझा प्रतिबद्धता गर्नुपर्ने बताए । कोइरालाले सार्क मुलुकलाई प्रगतीपथमा अघि बढाउन कृषि, स्वास्थ्य, सरसफाइृ, महिला सशक्तीकरण गर्नुका साथै स्रोत, साधन, विज्ञान तथा प्रविधिको बिकासमा जोड दिनु पर्ने बताए । कोइरालालले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न पनि सबै मुलुक एक हुनु पर्ने बताए ।

उनले नेपालको राजनीतिक अवस्थाको जानकारी दिदै संबिधानसभाबाटै समावेशी, संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संबिधान जारी गर्न राजनीतिक दलहरु लागि परेको बताए ।

sushil

नवाज सरिफ : चीनसँग सहकार्य गरौं

पाकिस्तानले दक्षिण एशियाको विकास र सम्वृद्धिका लागि विश्वकै आर्थिक महाशक्ति बन्दै गरेको चीनको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेको छ । सार्क शिखर सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले चीनको भूमिका खोजेका हुन् ।

Pakistan nawaj sarif

पाकिस्तानले चीनलाई सार्ककको सदस्यता दिनुपर्ने बताउँदै आएको सन्दर्भमा उनको यो अभिव्यक्तिलाई अर्थपूर्णरुपमा लिइएको छ । शिखर सम्मेलनलाई सम्बोधन गर्दै सरिफले भने-दक्षिण एशियाको आर्थिक विकासका लागि मध्य एशियाका साथै चीनको सहकार्य आवश्यक छ । चीन सार्ककको पर्यवेक्षक राष्ट्र हो ।

सरिफले दक्षिण एशियाका देशहरु आपसमा लड्ने होइन यहाँका साझा समस्याविरुद्ध एकजुट भएर लड्न ढिला भइसकेको बताए । सरिफले भने-दक्षिण एशियाले अब गरिवी, अशिक्षा, बेरोजगारी, रोगका विरुद्ध संयुक्त रुपमा लड्ने अठोट गर्नुपर्छ । यसलाई आर्थिक विकासको कोरिडोर बनाउनुपर्छ ।

 नरेन्द्र मोदी : आतंकवाद नियन्त्रण र सीमा सुधारमा जोड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रहरुलाई आह्वान गरेका छन् । अठारौंं सार्क शिखर सम्मेलनलाई सम्वोधन गर्दै मोदीले आतंकवाद अन्त्य गर्न सबैको सामुहिक प्रयासको खाँचो औंल्याएका हुन् । ‘हामीलाई २६/११ को पीडा अझै पनि याद छ, यो हमला कहिले पनि निको नहुने पीडा हो, आउनुस् हामी सबै मिलेर आतंकवादलाई खतम पार्ने सपथलाई पूरा गरौं ।’ सन् 2008 नोभेम्बर २६ तारिकमा मुम्बईको होटल ताजमा आतंकवादी हमला भएको थियो । सो हमलामा पाकिस्तानको हात रहेको भारतको आरोप छ ।

Modi

सार्क सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पनि सँँगै रहेकाले मोदीको अभिव्यक्ति त्यतैतिर लक्षित रहेको भारतीय सञ्चार माध्यमहरुले बताउने गरेका छन् । मोदीले सार्क राष्ट्रहरुको सबैभन्दा ठूलो कमजोरी भौतिक पूर्वाधार रहेको बताएका छन् । भौतिक पूर्वाधार कमजोर रहेकाले सडक मार्ग हुँदै नेपाल आउने आफ्नो इच्छा पूरा नभएको उनले सम्वोधनको क्रममा खुलाए ।

‘सडक मार्ग हुँदै नेपाल आउने मेरो योजना थियो, यसबाट हाम्रो सरकारका कैयौं अधिकारीहरु चिन्तित भए,’ मोदीले भने, ‘यसको कारण थियो सीमा क्षेत्रका सडकको खराब हालत । यस्तो अवस्थालाई हामीले हटाउनुपर्छ ।’ सार्क देशबीच केबल १० प्रतिशत मात्रै व्यापार भएको उनले तथ्यांक पेश गरे ।  सार्क सम्मेलनमा सरकार प्रमुखको हैसियतमा पहिलोपटक सहभागी भएका मोदीले १८ औं सार्क शिखर सम्मेलन आयोजक राष्ट्र नेपाललाई बधाइ समेत दिए ।

महिन्दा राजपाक्ष : दक्षिण एशियालाई बुद्धिष्ट सर्किट बनाऔं

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गरेका छन् । राजपाक्षले भने-दक्षिण एशियालाई बुद्धिष्ट कल्चरल ट्रेल बनाउन सकिन्छ, यो क्षेत्रको शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किट बनाउँ ।

Shrilanka Mahinda raj

मंगलबार नेपाल उत्रिनासाथ बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका राजपाक्षले आफूलाई नेपाल आउन बुद्ध जस्मस्थलले प्रेरित गरेको बताए । निकै गम्भिर र महत्वपूर्ण सन्देशसहितको मन्तव्य दिएका राजापाक्षेले श्रीलंकाको युद्धपछिको अवस्थाका बारेमा पनि संकेत गरे । उनले दक्षिण एशियाले अब आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्ने लगानीमा सहकार्य गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको चुनौतीसँग क्षेत्रीय शक्तिहरु एकजुट भएर विश्व समुदायसँग एउटै प्लेटर्फम मार्फत अघि बढ्नुपर्ने बताए । लिखित मन्तव्यबिना नै धाराप्रवाह बोलेका राष्ट्रपति राजापक्षले आर्थिक सहकार्य नै दक्षिण एशियाको विकासको चाबी हो भनेका छन् ।

असरफ घानी : दक्षिण एशियालीलाई भिसा फ्री बनाऔ

अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले दक्षिण एशियालाई फिसा फ्री क्षेत्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै घानीले भिसा फी दक्षिण एशिया र सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुन सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।

Afghanistan Ghani

विश्वकै वुद्धिजिवीमध्ये दोस्रोमा पर्ने घानीले आफ्नो सम्बोधनका क्रममा भने-हामी दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि छिमेकीसँग सहकार्य गर्न चाहान्छौं र हाम्रो भूमी कुनै पनि छिमेकीको विरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध छौं । घानीले आफ्नै भूमिमा ‘प्रोक्सी’ वार पनि स्वीकार्य नहुने बताएका छन् ।

छिरिङ तोब्गे : जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्या समाधान गर्न सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यकता औंल्याए ।

Bhutan chhiring

विश्व तापमानमा भएको वृद्धिका कारण हिमाली क्षेत्रमा कम हिउँ परेको, हिमनदी पग्लदै गएकोले सार्क क्षेत्रमा थप संकट निम्त्याउनेतर्फ सचेत रहन सार्क सदस्य राष्ट्रहरुलाई उनले आग्रह गरे । उनले गरिबी न्यूनीकरणका लागि पनि सामुहिक प्रयासले बल पुग्ने बताए ।

शेख सहिना वाजेद : खाद्य र बीउ बैंक स्थापना

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले शान्त र प्रगतिशील ज्ञानमा आधारित दक्षिण एसियाको विकास गर्न सार्क सदस्य राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिइन् । उनले दक्षिण एसियाको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने उल्लेख गरिन् ।

Bangaladesh shek hasina

बंगलादेशमा महिलाहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको जानकारी गराउँदै उनले दक्षिण एसियामा युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र प्रभावकारी तालिमका माध्यमबाट मानव संसाधनको विकास गर्न सकिने बताइन् ।

अब्दुल्ला यामिन : नविनतम प्रविधि र सही नेतृत्वमा जोड

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरूबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गरे ।

Maldives Abdul Rahim

उनले आपसी विश्वास नभइकन व्यापार बढ्न नसक्ने र यसका लागि नविनतम प्रविधि र सही नेतृत्व आवश्यक पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: