
अशोक विश्वकर्मा, तनहुँ । छाडा पशुचौपायाको ब्यवस्थापनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालनमा गौ संरक्षण केन्द्र सञ्चालन गर्न समस्या भएको छ । गौ संरक्षण केन्द्र स्थापना भएको १ बर्षमा नै बाह्य जिल्ला र घरमा पालिएको समेत पशु संरक्षण केन्द्रमा ल्याएर छोडिने गर्दा ब्यवस्थापनमा समस्या देखिएको हो ।
नगरपालिकाको वडा न ९ घारिमा सञ्चालनमा आएको संरक्षण केन्द्रमा रहेका झण्डै १ सय ५० पशुचौपायाको लागि चरन क्षेत्र र पराल लगायत खाद्यान्नको समस्या देखिएको केन्द्रकी संयोजक गिता महतले जानकारी दिइन् । “छाडा पशुचौपायाको संरक्षणका लागि स्थापना गरिएको केन्द्रमा घर घरबाट समेत गाई ल्याएर छोड्दा समस्या भयो” उनले भनिन्“यहाँ गाईहरु दैनिक मर्ने गरेका छन् तर पनि संख्या न्यूनिकरण भएको छैन ।” शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी संयोजक महतले स्थानीयले नबुझ्दा समस्या विकराल बन्दै आएको बताइन् ।
यस्तै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गले गौ संरक्षण केन्द्रलाई प्रभावकारि रुपमा सञ्चालन गर्नका लागि सवै पक्षको सहयोग आवश्यक रहेको बताए । संरक्षण केन्द्रमा रहेका पशुचौपायामा देखिएको स्वास्थ्य समस्या समाधान गर्न शुक्रबार आयोजना गरिएको स्वास्थ्य शिविरमा बोल्दै मेयर गुरुङ्गले स्थानीय सरकारसँगै नागरिक समाज, विश्व हिन्दु महासंघ र उद्योग बाणिज्य संघलाई केन्द्र सञ्चालनमा ध्यान पु¥याउन आग्रह गरे ।
केन्द्रमा रहेका पशुचौपायालाई शुक्रबार भिटामिन तथा जुकाको औषधि खुवाइएको छ । वडाको आर्थिक सहयोगमा पशुसेवा शाखा शुक्लागण्डकीले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा पञ्चमुनी देव माविमा भेटेनरी विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुले सहजीकरण गरेका थिए ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाका सडकमा अस्तब्यस्त रुपमा छाडा पशुचौपायाकै कारण सडक दुर्घटना बढ्नुका साथै स्थानीयको बालि खाईदिने समस्या भएपछि नगरपालिका गत बर्षको फागुन देखि गौसंरक्षण केन्द्र सञ्चालनमा ल्याएको हो ।

